ढुक्क भएर कर्णालीमा लगानी गर्नुस्, सुरक्षाको ग्यारेण्टी दिन्छौं : मुख्यमन्त्री शाही

चैत २३, २०७५

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा लगानी गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

सुर्खेत उद्योग वाणिज्य संघको ३५ औं साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले लगानीको पूर्ण सुरक्षा गर्ने बताए । ‘कर्णालीमा लगानी गर्नुस्,त्यसको सुरक्षाका पूर्ण ग्यारेण्टी सरकारले दिन्छ,’ उनले भने ।

मुख्यमन्त्री शाहीले सरकार लगानीमैत्री वातावरण बनाउन तयार रहेको बताए । ‘हामी कानूनहरू निर्माण गरिरहेका छौं,’ उनले भने, ‘यहाँहरूलाई कस्तो कानून आवश्यक पर्छ त्यस्तै बनाउँछौं । तर मात्र समृद्ध कर्णाली बनाउने महाअभियानमा यहाँहरूको लगानीको खाँचो छ । ढुक्क भएर लगानी गर्नुस् ।’

सडक नपुगेको ठाउँमा सडक पुर्‍याउने, बिजुली पुर्‍याउने काम सरकारको भएको उनको भनाइ छ । मुख्यमन्त्री शाहीले देश समृद्ध बनाउने भए नेपालको उत्पादन नेपालीले नै प्रयोग गर्नु पर्नेमा जोड दिए । ‘नेपालमा बनेका ट्रान्सफर्मरहरू विदेशमा पठाइन्छ अनि विदेशबाट पड्किनेवाला नेपालमा ल्याइन्छ,’ उनले भने, ‘यस्तो गर्दा नेपाली व्यवसायीहरूको व्यवसाय धरापमा परेको छ । सरकारले अथवा सबैले स्थानीय सामग्रीको नै प्रयोग गरौं । ताकी यहाँको उत्पादनको बजार यही बनाउँदै देशलाई समृद्धिको दिशामा लैजाऔं । lokaantar.com