कर्णाली सरकार भौतिक पूर्वाधारको काममा खटिँदै छ : मुख्यमन्त्री शाही

कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भौतिक पूर्वाधारको काममा आफैँ खटिएका छन् । आफ्नो गृहजिल्ला कालीकोटको सदरमुकाम मान्ममा निर्माणाधीन चक्रपथमा आज उनले श्रमदान रेका हुन् ।

श्रम संस्कृति बसाल्न श्रम दिवसको समेत शुरुआत गर्दै मुख्यमन्त्री शाहीले श्रमको सम्मान गर्न श्रम दिवस मनाउने कार्यको थालनी गरिएको जानकारी दिए । उनले भने, ‘कामका आधारमा ठूला र साना हुँदैनन् । सामन्तवादी संस्कृति अन्त्य गर्नुपर्छ ।’

प्रदेश समन्वय परिषद्बाट यहाँका ७९ वटै स्थानीय सरकारहरुलाई श्रम नीतिअनुसार कार्ययोजना बनाई काम गर्न निर्देशन दिइएको उनले जानकारी दिए । मुख्यमन्त्री शाहीले काम देखाउन मात्र नभई श्रम संस्कृतिको विकास गर्न सरकारले शुरु गरेको श्रम दिवस अभियान सफल बनाउनका लागि नागरिक तहदेखि प्रदेशका सबै पक्षलाई सहयोग गर्न आग्रह गरे ।

सो अवसरमा सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, कालीकोट खाँडाचक्र नगरपालिकाका प्रमुख जैसीप्रसाद पाण्डे, कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मी बस्नेत, सामाजिक विकास मन्त्रालयका सचिव डा।मानबहादुर विकलगायत नेपाली सेना, नेपाल प्रहरी र नागरिकहरुले श्रमदान गरेका थिए ।