बैशाख ३ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

२४ चैत, काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । पहिलो पटक थपिएको लकडाउन मंगलबार सकिँदै थियो । तर, मन्त्रिपरिषद्को बैठकले त्यसलाई लम्ब्याएर ३ बैशाखसम्म पुर्‍याउने निर्णय गरिसकेको छ ।

त्यो अवधि पूरा नहुँदै २५ गतेसम्म थपियो । तर, यो अवधिमा कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाइ गरेको थियो । साथै, कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो ।बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लकडाउन लम्ब्याएर कडाईका साथ पालना गराउनुपर्नेमा जोड दिएका थिए । ‘लकडाउनसँगै र्‍यापिड टेष्टलाई तीव्रता दिनुपर्छ भन्ने उहाँको जोड थियो’, एक मन्त्रीले भने ।

मन्त्रीहरूलाई अतिरिक्त जिम्मेवारी

कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नरहेका मन्त्रीहरूलाई अतिरिक्त जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ ।

अर्थसहित सूचना तथा सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्वाङलाई प्रदेश १ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई गण्डकी प्रदेशसँग समन्वय गर्ने जिम्मा दिइएको छ । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई कर्णाली प्रदेश सरकारसँग समन्वय गर्न भनिएको छ । प्रदेश नम्बर ५ सँग समन्वय गर्ने जिम्मा ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनलाई दिइएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई प्रदेश २ सँग समन्वय गर्न भनिएको छ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले भने सुदूरपश्चिम सरकारसँग समन्वय गर्ने अधिकार पाएकी छन् ।

संसदमा उपस्थिति दलसँग समन्वय गर्ने मन्त्री पनि बैठकले तोकेको छ । यो जिम्मेवारी कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेले पाएकी छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिला, बालबालिका र जेष्ठ नागरिकहरूको अवस्थाबारे जिम्मा पाएका छन् भने युवा तथा खेलकुद मन्त्री जगत विश्वकमाले स्वयंसेवक व्यवस्थापन गर्नेछन् ।