कर्णाली मा केपी पक्षका दुई मन्त्री हटाइदै ।

सुर्खेत । अविश्वासको प्रस्तावले तरंगीत बनेको कर्णालीमा प्रधानमन्त्री केपी ओली पक्षका दुई मन्त्रीलाई हटाउन लागिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध आएको अविश्वासको प्रस्ताव अस्वीकृत गर्नमा साथ दिने माधव नेपाल पक्षधरका सांसदहरुलाई मन्त्री बनाउन ओली पक्ष मन्त्री हटाउन लागिएको हो ।
सामाजिक विकास मन्त्री दल रावल र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई हटाउन लागिएको छ ।
सामाजिक विकास मन्त्री रावलले सामाजिक सञ्जाल फेसकबुकमा लेखेका छन् ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु ।’ मन्त्री रावलले र बुढाले आज नै राजिनामा दिन लागेको स्रोतले जनाएको छ ।
मुख्यमन्त्री शाहीले दुई मन्त्री हटाएर एक दुई दिनमा नेपाल पक्षधरका तीन सांसदलाई मन्त्री बनाउने गृहकार्यमा जुटेको स्रोतले जनाएको छ । तर मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्माले भने सबै मन्त्रीहरु हटाएर नयाँ मन्त्रीपरिषद् गठनको गृहकार्य भएको जनाए ।
‘यो पक्ष उ पक्ष भन्ने छैन्, सबैले ढाई ढाई वर्ष काम गरिसक्नु भएको छ’ शर्माले भने, ‘सबैलाई हटाएर नयाँ मन्त्रीपरिषद् पुनर्गठनको तयारीमा मुख्यमन्त्री लाग्नु भएको छ ।’
तीन मन्त्री तत्काल नहट्ने
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई भने तत्काल नहटाइने स्रोतले जनाएको छ ।
खाली रहेको भौतिक पूर्वाधार र दुई मन्त्रीले राजिनामा दिएपछि खाली हुने सामाजिक विकास र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयमा अविश्वासको प्रस्ताव अस्वीकृत गर्न साथ दिने नेपाल पक्षका सांसदहरु मध्य तीन जनालाई मन्त्री बनाउने गृहकार्यमा मुख्यमन्त्री रहेको स्रोतले जनाएको छ ।
मन्त्रालय फुटाउँदै
मुख्यमन्त्री शाहीले दुई मध्य एक मन्त्रालय फुटाउने तयारी गरेका छन् । सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमध्य एक मन्त्रालय फुटाउने छलफल चलेको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार शर्माले बताए ।
उनकाअनुसार सामाजिक विकास मन्त्रालयले फुटाएर स्वास्थ्य र शिक्षा बनाउने वा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग र पर्यटन मन्त्रालय तथा वन र वातावरण मन्त्रालय बनाउने विषयमा छलफल चलिरहेको छ । अन्तिम निर्णय भइनसकेकाले एक दुई दिनमा कुन मन्त्रालय फुटाइने भन्ने निक्र्यौल हुने शर्माले उल्लेख गरे ।