सूर्य चिन्ह र नेकपा नाम हाम्रै हुन्छ, नभए आँधीवेहरी आउँछ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी नेकपा र सूर्य चुनाव चिन्ह आफूहरूले पाउने बताएका छन्।

यसबारे सोमबार निर्वाचन आयोग गएर आएपछि थप प्रष्ट भइसकेको उनको भनाइ थियो।

उनले ५० प्रतिशत केन्द्रीय सदस्य हुनेले नाम र चिन्ह पाउने भए पनि आफूहरूसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको प्रचण्डको दाबी छ।

उनले यो कुरा मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलामा भनेका हुन्।

प्रचण्डले सूर्य चिन्ह र नेकपा नाम नपाउने अवस्था आएमा आँधीवेहरी आउने चेतावनीसमेत दिएका छन्।

‘नाम र चिन्ह हाम्रो हुन्छ। नेकपा र सूर्य चिन्ह हाम्रै हो,’ उनले भने, ‘यसमा कुनै द्विविधा राख्नु पर्ने छैन।’

उनले नेकपा नाम र सूर्य चिन्ह आफूहरूले पाउनेमा शतप्रतिशत विश्वस्त रहेको पनि बताएका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गर्नु असंवैधानिक रहेको पनि बताएका छन्।पार्टीभित्रको विवादले प्रतिनिधि सभा भंग गर्न नमिल्ने उनले बताएका हुन्।