नेविसंघका महामन्त्री र पूर्वमहामन्त्री महाधिवेशन प्रतिनिधिमा पराजित

 

७ मंसिर, काठमाडौं ।

नेपाल विद्यार्थी संघकी महामन्त्री महेश्वरी कुँवर महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । सोमबार भएको क्षेत्रीय अधिवेशनमा उनी पाल्पा– २ बाट महाधिवेशन प्रतिनिधि पराजित भएकी हुन् ।

खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार कुँवरले ३१४ मत ल्याएको निर्वाचन समिातिले जनाएको छ । पार्टीमा संस्थापन समूहमा रहेकी कुँवर भागबण्डामा महामन्त्री बनेकी हुन् । पद्मकन्या क्याम्पसकी स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) उपसभापति भइसकेकी उनी यसअघि नेविसंघको सहमहामन्त्री थिइन् ।

त्यस्तै नेविसंघका पूर्व महामन्त्री सरोज थापा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी काठमाडौं–७ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । २५० मत खसेकोमा थापाले जम्‍मा ३६ मत पाए । सुनसरीबाट क्रियाशील सदस्यता काठमाडौंमा सारेका थापा पार्टीमा संस्थापन निकट हुन् ।