गणतन्त्र र संघीयता असफल भइसक्यो, अब घुँडा टेकाउँछौं: धवल शमशेर

काठमाडौं, २० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शमशेर जबराले आफूहरु तिहारलगत्तै आन्दोलनमा उत्रिने बताएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गणतन्त्र र संघीताको विरुद्धमा राजावादीहरु सडकमा आउन लागेका बताएका हुन् । आन्दोलनबाट राजासहितको प्रजातन्त्र र हिन्दुराज्य पुनर्स्थापना गराई छाड्ने उनले बताए । तिहारपछि देशैभरी आन्दोलनको संरचना बनाएर अगाडि बढ्ने उनले बताए । आफूहरु आगामी पुष २७ गतेबाट सडकमा गएर वैशाख/जेठतिर काठमाडौं केन्द्रीत आन्दोलन गर्ने र यो सरकार र व्यवस्थालाई घुँडा टेकाउने उनले बताए । आन्दोलनमा सरकारको मुकाविला सहन आफूहरु तयार रहेको उनले बताए ।

गणतन्त्र र संघीयताबाट देश समाप्त हुन लागिसकेको उनले बताए । देशमा युवाहरुले बस्नै नचाहने अवस्था सिर्जना हुँदा अहिले नेपाल वृद्धाश्रममा परिणत हुने अवस्था आएको उनले बताए । यो व्यवस्थाले जनतामा उन्नति र समृद्धि दिन नसक्ने बताउँदै उनले यो व्यवस्थानै परिवर्तन गर्ने गरी लागिरहेको उनले बताए ।

‘देश समाप्त हुन लागिसक्यो, गणतन्त्र र संघीयता असफल भइसक्यो । देश खोक्रो भयो, रोजगारी छैन, अर्थ छैन, ४० प्रतिशत सटरहरु बन्द भइसके । यो देश वृद्धाश्रममा परिणत भएको छ । खाद्यन्न छैन, जनताहरु आक्रान्त छन् ।’ उनले भने, ‘देशै समाप्त हुने बेलामा हामीले अहिले परिवर्तनको विगुल नफुके कहिले फुक्छौं ?’

आफूहरु सरकारमा सहभागी नहुने उनले बताए । कोशीमा पनि राप्रपा सरकारमा सहभागी नहुने उनले बताए । आफुहरु गणतन्त्र र संघीयता विरोधी शक्ति भएको बताउँदै उनले प्रदेश सरकार मध्यावधिमा जानेमा आफूहरुलाई चिन्ताको विषय नभएको उनले बताए ।

‘हामी सरकारमा जाँदैनौं । यो सरकारमा हामी कुनै पनि हालतमा जाँदैनौं । कोशीमा पनि गएनौं । हामी संघीयता विरोधी हौं, हामी सरकारमा जान हुँदैन भन्ने मेरो सोच हो । पार्टीमा अहिलेसम्म पनि त्यही छ ।’ उनले भने, ‘हामीले किन रोक्न पर्यो मध्यावधि, हामीले किन बचाउन पर्यो सरकार ? हामी त यो संघीयतानै विफल हो, संघीयताले देशलाई देशलाई खोक्रो पार्यो । नेता र कार्यकर्ता पाल्ने काममात्रै भयो । गणतन्त्र र संघीयता देशको लागि फापेन, सुहाएन । यसलाई विघटन गरेर राजासहितको प्रजातन्त्र, हिन्दु राष्ट्र ल्याउन पर्छ भन्ने हामीलाई धेरै चिन्ता छैन ।’