फाल्गुनन्द गोल्डकप : सुनसरी–११ लाई पराजित गर्दै सरस्वती क्लब सेमिफाइनलमा

पाँचथर – पाँचथरको फिदिममा जारी १० औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्यान्पियन सुनसरी–११ लाई पराजित गर्दै सरस्वती   क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्थानीय फिदिम माविको खेल मैदानमा बुधबार सम्पन्न क्वार्टरफाइनल खेलमा सुनसरीविरुद्ध सरस्वतीले २–१ गोल अन्तरको जित हात पारेकोे हो । अन्तिम १४ मिनेटको समयमा सम्हालिन नसक्दा सुनसरीको दोस्रो पटक उपाधि उचाल्ने सपना बिफल भयो ।

खेलको ७ औँ मिनेटमा सुनसरीका दिपेन तामाङले गोल गरे । खेलमा हाबी भएको सरस्वतीले ४ मिनेटको बीचमा २ गोल गर्‍यो । उसका लागि विदेशी खेलाडी भिक्टरले ७६ औँ र ८० औँ मिनेटमा गोल गरे ।

सरस्वतीले पहिलो हाफमै बराबरी गोल गर्न पाएको अवसर सदुपयोग गर्न नसक्दा ७६ औँ मिनेटसम्म १ गोलले पछि गरेको हो । ३७ औँ मिनेटमा सरस्वतीका तीर्थ बस्नेतको सशक्त प्रहार सुनसरीका गोलकिपर विष्णु चौधरीले मुस्किलले बचाए ।

खेलमा सुनसरीले भने खासै राम्रो अवसर सिर्जना गर्न सकेन । खेलको म्यान अफ् द म्याच सरस्वतीका भिक्टर बने ।  उनले नगद १० हजार पाए । प्रतियोगिता अन्तर्गत बिहीबार ब्रिगेड ब्वाइज क्लब काठमाडौँ र रोयल एफसी दार्जीलिङ भारतबीच खेल हुनेछ ।

पुस ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले आकर्षक ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख पाउनेछ ।