विप्लवको घरमा अदालतद्वारा पत्र टाँस, १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश !

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचव विप्लव र सोही पार्टीका पोलिटब्युरो सदस्य तथा विप्लवका दाई बिरजंगका नाममा रुपन्देही जिल्ला अदालतले पत्र टाँस गरेको छ । कपिलबतुको शिवराज नगरपालिका ९ मा रहेको विप्लवको घरमा १५ दिनभित्र उपस्थित हुनु भनि अदालतले पत्र टास गरेको विप्लवको पारिवारिक स्रोतले जनाएको छ । यो अघि पनि विप्लवको नाममा भोजपुर जिल्ला अदालतले ३५ दिनभित्र अदालतमा उपस्थित हुनुभनि म्याद टाँस गरेको थियो । त्यस्तै कालिकोट जिल्ला अदालतले पनि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको घरमा म्याद टाँस गरेको थियो भने अर्का नेता जिवन्तको घरमा पनि म्याद टास गरिसकेको छ ।

सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्नका लागि उच्च स्थरिय वार्ता टोली गठन गरेको थियो तर नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वार्ताको औचित्य नै नभएको भन्दै विज्ञप्ति जारी गरेका थिए । सरकारले एकातर्फ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डदेखि केन्द्रीय सदस्यहरुलाई धमाधम पक्राउ गरिरहेको थियो भने अर्कातर्फ वार्ताको लागि अधिकार सम्पन्न राजनीतिक वार्ता टोली गठन गरेर वार्तामा आउन आह्वान गर्यो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा अधिकार सम्पन्न वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले विप्लवले वार्ता टोलीलाई प्रयोग मात्रै गरेको भन्दै गुनासो पोख्ने गरेका छन् ।

उनले वार्ता समितिको म्याद सकिएको दिन पत्रकार सम्मेलनमा बोल्दै भनेका थिए , विप्लव जीहरुले हामीलाई प्रयोग गरेर पक्राउ परेका प्रकाण्ड लगायतका नेताहरु छुटाएर लगे । गुणराज लोहनीसँग पटक पटक विप्लवलाई भेट गराईदिन आग्रह गर्यौ । लोहनीले भेट गराई दिने भनेर आश्वासन मात्रै दिए । विप्लवले भेट्नै मानेनन् । वार्ता टोलीकै आडमा मंसिर सात गते काठमाडौंमा जनसभा पनि गरे । एक हिसावले हामीलाई प्रयोग गरे । म आफै पनि प्रकाण्ड लगायतका नेताहरुलाई छुटाउन गृहमन्त्रीलाई भेट्न गए । तर उनीहरुले धोका दिए । वार्तामा आएनन् ।

विप्लवसँग वार्ता गर्ने सरकारको प्रयास असफल भएपछि सरकार आक्रमक भएर अगाडि बढ्ने देखिएको छ । एकातर्फ दुई तिहाईको कम्युनिस्ट पार्टीको सरकार छ भने अर्कातर्फ विप्लव नेतृत्वको नेकपा यो संविधानलाई नमान्ने भनेर संघर्ष गरिरहेको छ । विप्लवलाई पक्राउ पुर्जी जारी गरेर सरकार नेकपालाई साईजमा ल्याउन खोजीरहेको छ भने अर्कातर्फ विद्रोही नेकपा आफ्ना कार्यक्रमहरुलाई शसक्त बनाएर अगाडि बढ्ने दाउमा छ । विप्लवको घरमा कपिलबस्तु अदालतको म्याद टाँस पनि राजनीतिक प्रतिशोधको भावनाले गरिएको भन्दै सो पार्टीका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जाल फेसबुकमा सरकारको चर्को बिरोध गरेका छन् ।merodainik.com