कुलमानसँग प्रधानमन्त्री ओली असन्तुष्ट, निरन्तरता दिनुपर्ने प्रचण्डको अडान !

काठमाडौं, ११ भदौ । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा निरन्तरता दिनुपर्छ भनेर सामाजिक सञ्जालमा दबाब बढिरहेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली भने घिसिङसँग असन्तुष्ट बनेका छन् । घिसिङको पदावधि यही भदौ २९ गते सकिँदैछ । देशव्यापी रुपमा सोसल मिडियामा घिसिङलाई नै उक्त पदमा निरन्तरता दिनुपर्ने माग भैरहेको छ । कतिसम्म भने गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पूनः नियुक्ती गरेका समाचार पनि आएका थिए । तर, उक्त समाचारमा सत्यता छैन् । विभागीय मन्त्री उर्जामन्त्री वर्षमान पुनपनि कुलमानसँग खासै सन्तुष्ट नभएको बुझिएको छ ।

घिसिङले सामाजिक सञ्जालमार्फत पूनः नियुक्तीको लागि दबाब बढाएको भन्ने मन्त्री र प्रधानमन्त्रीको बुझाई छ । तर, घिसिङले यसबारेमा स्पष्टीकरण दिईसकेका छन् । उनले कसैले फेक अकाउन्टमार्फ गलत प्रचार गरिरहेको भन्दै सचेत हुन आग्रह गरेका छन् । घिसिङकै कारण नेपालमा लोडसेडिङ अन्त्य भएको आम सर्वसाधरणको बुझाई छ । हुनपनि उनको व्यवस्पाकीय क्षमताकै कारण यो सम्भव भएको विज्ञहरुको भनाई छ । तत्कालिन उर्जामन्त्री जनार्दन शर्माको पालामा उनलाई कार्यकारी प्रमुख बनाईएको थियो । त्यतिवेला पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए ।

प्राधिकरणका पूर्व कार्यकारी प्रमुख मुकेशराज काफ्लेले घिसिङकै कारण लोडसेडिङ अन्त्य नभएको दाबी गरेका छन् । तर, उनले घिसिङको कारण विद्युत चुहावट घटेको भने स्विकारेका छन् । प्राधिकरणमा घिसिङ दोहोरिन्छन् वा दोहोरिँदैनन त्यो हेर्न बाँकी छ । तर, प्रधानमन्त्री ओली भने घिसिङसँग असन्तुष्ट रहेको बुझिएको छ । उता, नेकपाका अर्का अध्यक्ष प्रचण्डले भने घिसिङ लाई नै निरन्तरता दिनुपर्ने अडान लिएका छन् । उनले राईट म्यान ईन राईट पोष्टका हिसाबले पनि कुलमान प्राधिकरणको कार्यकारी प्रमुखमा रहनुपर्ने तर्क गरेका छन् ।