अछामका १२ वडा कार्यालयमा नेकपा विप्लव समुहद्धारा तालाबन्दी

अछाम । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको छ । पार्टीको सेती महाकाली ब्युरोका नाममा पम्पलेट टासेर आइतवार बिभिन्न स्थानीय तहका वडाहरुमा तालाबन्दी गरेको हो ।

मंगलसेन नगरपालिकाको वडा नम्वर १ कुन्तीबण्डाली, १३ बस्ती, ढकारी गाउँपालिकाको वडानम्वर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्वर २ भुलु र ७ तोषि, पञ्चदेवल बिनायक नगरपालिकाको ९ कालेकाँडा, ८बारला, ५ लयाँटी र ७ पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडानम्वर ३ शान्तडा, ४ बाटुलासैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लव समूह निकट स्रोतले जानकारी दिएको छ । कालेकाडा र बारलाको वडा कार्यालय अगाडी नै प्रहरी चौकी रहेको छ । पार्टीको घोषित नीति अन्र्तगत असार २२ गते सरकारी कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम अनुरुप अछामका १२ वटा वडा कार्यालयहरुमा तालाबन्दी गरिएको बिप्लब निकट स्रोतले बताएको छ ।

यता मंगलसैन नगरपालिका वडानम्वर १ का वडा अध्यक्ष गोपाल थापाले कार्यालयको ताला तोडेर छुट्टै ताला झुन्ड्याएको जानकारी दिए । ‘वडा कार्यालयको ताला तोडेर नजिकै फालिएको छ, र अर्को ताला लगाईएको छ वडा अध्यक्ष थापाले भने संगै दलाल पुजीवादी संसदीय व्यवस्था अन्त्य गरौं, सामाजिक दलाल पुजीवादी सरकार खारेज गरौं, नेपाल कम्यूनिष्ट पार्टी सेती महाकाली ब्युरो भनेर पर्चा टासिएको छ ।’