जापानिज झोला पाएपछि पलाँताका विद्यार्थी मख्ख

कालिकोट : जिल्लाको पलाता गाउँपालिकाले गाउँपालिकामा रहेका हरेक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जापानिज झोला वितरण गरेको छ। जिल्लाको अति विकट क्षेत्रका रुपमा चिनिएको पलाँताका विद्यार्थीहरुको हातमा किताब बोकेर विद्यालय जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाँउपालिकाले निशुल्क रुपमा जापानिज झोला वितरण गरेको हो। कालिकोटका प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत र पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले विद्यार्थीहरुलाई जापानिज झोला वितरण गरेका हुन्।

गाउँपालिकाले युमि नेपाल जापानको सहयोगमा पलाँताका हरेक विद्यालयका कक्षा ४ देखि ८ कक्षासम्म अध्ययनरत २ हजार ६ सय विद्यार्थीहरुलाई ३५ हजार मुल्य बराबरको गुणस्तरीय झोला वितरण गरेको हो। जसमा कालिकोटको पलाता गाउँपालिका, दैलेखको विन्दाशैनि नगरपालिका, जाजरकोटको भेरीगंगा गाउँपालिका, सल्यानको सारदा गाउँपालिका छनोट गरेको समन्वयकारी संस्था रुपान्तरण नेपालका अध्यक्ष मोहनबहादुर शाहीले बताए। युमि नेपाल जापानका प्रतिनिधि डा. बाबुराम निरौलाले पलाँताका विद्यार्थीहरुलाई मायाको चिनो स्वरुप झोला वितरण गरिएको बताए।

पलाँता गाँउपालिका–२ मा रहेको सरस्वती मावि राडुनेटामा कक्षा ६ का अध्यायनरत समरकला विश्वकर्माले झोला पाएपछि हातमा किताब बोकेर विद्यालय जानुपर्ने बाध्यता टरेको बताईन्। उनले भनिन्, सधैं हातमा किताव कापी किनेर विद्यालय जानुपर्थ्याे। अरुले झोला बोकेर आउँदा आफुलाई पनि रहर लाग्थ्यो तर घरमा किन्ने पैसा हुदैन थियो। बुवाले कालापाहाडबाट वर्षमा एक पटक नयाँ कपडा ल्याएर शरिर त ढाकिन्थ्यो। तर किताव ढाक्ने झोला नपाएरै विद्यालय जानुपर्थ्याे।

पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले गाउँपालिकाको समग्र शैक्षिक गुणस्तर सुधारका लागि शिक्षामा लगानी बढाएको बताए। उनले गाउँपालिकाले पहिलो वर्षदेखि नै हरेक विद्यालयमा विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दी सिर्जना गर्ने, भौतिक तथा अन्य आवश्यक शैक्षिक सामाग्रीको व्यवस्थापन गर्ने र अन्य अनुदानहरुकोे व्यवस्था गरिरहेको बताए। उनले भने, ‘गाउँपालिकालाई निशुल्क शिक्षा सुनिश्चितता भएको गाउँपालिका घोषणा गरेका छौ।’ चालु आर्थिक वर्षबाटै गाउँपालिकामा आवशिय विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ।annapurnapost.com