रोजगारीका लागि भारत गएकालाई १० दिनभित्र फर्किन कर्णाली प्रदेश सरकारकाे आग्रह, फर्केपछि क्वारेन्टाइनमा राखिने

कर्णाली प्रदेश सरकारले कर्णालीमा कोरोनाको उच्च जोखिम भएको बताउँदै आगामी दश दिनभित्र कर्णालीमा फर्किन भारतमा रहेका कर्णालीवासीलाई आव्हान गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार कोरोना भाईरस (कोभिड(१९) रोकथाम सम्बन्धमा कर्णाली प्रदेश विपद व्यवस्थापन परिषद र कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको संयुक्त बैठकले भारतमा रोजगारीका लागि गएका हजारौं नेपाली युवाहरु कर्णाली फर्किने सिजन सुरु भएको बताउँदै सो अवधिभित्र कर्णाली फर्किसक्न आग्रह गरिएको सरकारका प्रवक्ता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् ।

उनले कर्णाली भित्रिने नाकाहरुमा कडाई गर्ने, कर्णालीका नागरिकमात्रैे आउन दिने, विदेशीले आउनैपर्ने भए पूर्वअनुमति लिएर आउनुपर्ने, ५० करोड कोष खडा गरी कोषमार्फत खर्च अगाडि बढाउने निर्णय भएको जानकारी दिइन ।

उनका अनुसार भारतबाट फर्केर आउने युवालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य जाँचपछि मात्रै घर जान दिने तयारी गरिएको हो ।‘कोरोनाको संक्रमण हुने खतरा कर्णालीमा बढेको छ । हजारौं युवाहरु रोजगारीका लागि भारत गएका छन् । उनीहरु फर्किरहेका छन् । उनीहरुलाई आगामी दश दिन भित्र कर्णाली भित्र प्रवेश गरिसक्न आग्रह गर्ने निर्णय भएको छ,’ मन्त्री केसीले भनिन्, ‘यसका अलावा वीरेन्द्रनगरमा एक हजार जनालाई क्वारेन्टाइनमा राख्ने तयारी सुरु गरेका छौं । ४०० जनालाई रेडियो नेपालको चौरमा पाल टाँगेर र ६ सय जनालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा राख्ने व्यवस्था मिलाएका छौं । आजै देखि तयारी सुरु भएको छ । आगामी तिन दिन भित्र हामी क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नेछौं ।’

उनका अनुसार बैठकले मन्त्रीहरुको संयोजकत्वमा विभिन्न समितिहरु पनि गठन गरेको छ । कोरोनाको व्यवस्थापनका लागि कार्यान्वयन समितिमा सामाजिक विकास मन्त्री दल रावल, कानून मन्त्री नरेश भण्डारीको अध्यक्षतामा अनुगमन समिति र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको अध्यक्षतामा आपूर्ति समिति गठन गरेको हो ।