काठमाडौं । जिमि ग्रुप प्राइभेट लिमिटेडका म्यानेजिङ डाइरेक्टर तथा समाजसेवी जिवन चलाउनेले लकडाउनको कारण समस्यामा परेकालाई सहयोग गरेका छन् । विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि सरकारले लगाएको लकडाउनको चपेटामा परेका २ हजार मजदुरलाई उनले राहत बाँडेर सहयोग गरेका हुन् । लामो समयदेखि काठमाडौंमा खाद्यान्न व्यवसाय गर्दै आएका चलाउनेले बुधबार काठमाडौंको कालिमाटीमा दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आएका मजदुरहरुलाई राहत वितरण गरेका हुन् । उनले यसअघि पनि प्राकृतिक विपत्ति तथा अन्य महामारीको बेलामा गरिब, दिनदुखीको सहयोग गर्दै आएका छन् । लकडाउनको समस्यामा परेका काठमाडौंका मजदुरहरुलाई बाँच्न सहज होस् भन्ने भावनाले आफूले उक्त राहत वितरण गरिएको बताए । समाचार दैनिकसँगको कुराकानीका क्रममा उनले भने,‘कालिमाटीमा लकडाउनको समस्यामा परेका दुई हजार मजदुरलाई आज हामीले ५ किलो चामल, दुई किलो दाल, तेल लगायतका खाद्यान्न सहयोग गरेका छौं ।’ सरकारले लकडाउन थपिरहेको बेला उनीहरुको बिहान बेलुकाको छाक टार्न भएको समस्या यसले केही हदसम्म हल गर्ने उनको भनाई छ । साथै, उनले अबको केहीदिनमा ६ हजार लकडाउनको समस्यामा परेका मजदुरहरुलाई राहत उपलब्ध गराउनेगरी तयारी गरिरहेको जानकारी दिए । यसअघिका विपत्तिमा पनि उनले राहत बाँड्ने गरेका थिए । आफू विशुद्द व्यवसाय गरेर बसेको र विपत्तिको बेलामा सहयोगी हात फैलाएको उनले बताए ।
स्मार्ट कर्णाली । ४ बैशाख २०७७, बिहीबार ०७:४७ बजे