कर्णाली प्रदेश सरकारले विकास निर्माणका कामलाई प्रभावकारी बनाउने

सुर्खेत ‍कर्णाली प्रदेश सरकारले विकास निर्माणका कामलाई प्रभावकारी बनाउने भएको छ । यही वैशाख २६ गते बसेको बैठकले विकास निर्माणलाई तिब्रता दिने भन्दै विकासे कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारसंग माग गरेको छ । प्रदेशको विकास निर्माण सम्बन्धी कार्यमा दोहोरोपना हटाउन, प्रदेशको स्रोतसाधन बृद्धि गरी सेवा प्रवाह र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउन प्रेदशमा रहेका संघीय सरकारका सेवा प्रवाह र विकास निर्माणसँग सम्बन्धित कार्यालयहरु स्रोतसाधन सहित प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारसँग अनुरोध गरिएको सरकारका प्रवक्ता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिईन ।

मन्त्री परिषदको बैठकले ‘मुख्यमन्त्री रोजगार कार्यक्रम निर्दे्शिका २०७६ (पहिलो संशोधन) स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता केसीले बताईन् । उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव पदमा सोही मन्त्रालयका राजपत्राङ्कित द्वितीय श्रेणीका सिनियर डिभिजनल इञ्जिनियर धर्मेन्द्र कुमार झालाई अर्को व्यवस्था नभएसम्मका लागि कायम मुकायम मुकरर गर्ने निर्णय भएको छ ।’त्यस्तै ‘कर्णाली प्रदेश सार्वजनिक निकायको बैठक तथा कार्यक्रम संचालन कार्यविधि २०७७ स्वीकृत गर्ने, प्रदेश सभाको छैटौँ अधिवेशन जेठ ११ गते आइतबार दिनको ३ बजे प्रदेश सभा भवन, सुर्खेतमा बस्ने गरि आह्वान गर्न नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम माननीय प्रदेश प्रमुखज्यू समक्ष सिफारिस गर्ने निर्णय समेत भएको मन्त्री केसीको भनाई छ ।

उनका अनुसार कोभिड १९ संक्रमण रोकथाम तथा प्रतिकार्यार्थ अस्पतालहरुको पूर्वाधार विकासको लागि प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय कालिकोट, स्वास्थ्य सेवा कार्यालय जाजरकोट, चौरजहारी सामुदायिक अस्पताल रुकुम पश्चिम र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई बजेट उपलब्ध गराउने निर्णय पनि भएको छ । नेपाल सरकारबाट प्रदेश मन्त्रालयहरुमा खटिने सचिवहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा खटाउने र प्रदेश सरकारबाट प्रदेश सरकारका मन्त्रालयहरुमा पदस्थापन हुने गरी व्यवस्था हुनका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय भएको मन्त्री केसीले जानकारी दिईन ।