संक्रमितको रेखदेखका लागि घरघरमै स्वास्थ्यकर्मी परिचालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडाैं :  काठमाडौं उपत्यकामा कोरोना भाइरस ( कोभिड-१९) का संक्रमित बढ्दै गएर संक्रमित होम आइसोलेसनमा बस्न थाले पछि सरकारले अब घर घरमै स्वाथ्य्यकर्मी परिचालन गर्ने भएको छ।

स्वास्थ्य तथा मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाले होम आइसोलेसनमा बसेका, क्वारेन्टिनमा वा सामूहिक आइसोलेसनमा बसेका  संक्रमितको हेरचाहका लागि स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ।

महाशाखाका प्रमुख डा प्रकाश बुढाथोकीका अनुसार यसको लागि ६ महिना पहिला जनशक्ति मार्गदर्शन तयार पारेको मन्त्रालयले सो अनुसार स्वास्थ्यकर्मी परिचालन गर्न नसक्ने भएपछि पुन अर्को मापदण्ड तयार पारिएको बताए।

अहिले तयार पारिएको  मापदण्डमा निजी स्वास्थ्य सस्थाले पनि अनुमति लिएर सेवा दिन पाउने व्यवस्था गरिएको र सेवामा खटिने स्वास्थ्यकर्मीलाई एक जना संक्रमितलाई हेरे बापत २ देखि ३ सयको दरमा दैनिक भत्ता मन्त्रालयले उपलब्ध  गराउने व्यवस्था गरिएको उनले बताए।

हाल काठमाडौं उपत्यकामा काठमाडौं जिल्लामा ११ हजार ५७० जना भक्तपुरमा १ हजार ७५० र ललितपुरमा १ हजार ८०३ जना संक्रमित होम आइसोलेशनमा रहेको मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख गरिएको छ। यस्तै उपत्यकामा पछिल्लो समय दैनिक  दुई हजारको हाराहारीमा दैनिक नयाँ संक्रमित थपिएका छन्। र यो संक्रमण दर बढ्दै जाने अनुमान र होम आइसोलसनमा बसेका संक्रमितको हेरचाहका लागि स्वास्थ्यकर्मी खटाइने बताए।

कोभिड संक्रमित दिन प्रतिदिन बढ्दै गएको अवस्थामा अस्पतालमा हुने अनावश्यक भीडभाडलाई कम गर्ने मात्रै हैन अस्पताल नै नगइ घरमा स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले आइसोलेसन सम्बन्धी स्वास्थ्य मापदण्ड २०७७ तयार पारिएको डाक्टर बुढाथोकीले बताए।

उनले भने ‘यो सेवा हामीले जतिसक्दो चाडै काठमाडौं उपत्यकामा सुरू गर्न लागिएको छ किनकी अहिले यहाँ सबै भन्दा धेरै संक्रमित होम आइसोलेशनमा बसेका छन्।’

महाशाखाले तयार पारेको मापदण्डले घरमा बसेका ५० संक्रमित बराबर १ स्वास्थ्यकर्मी रहने र आइसोलेसन केन्द्रमा बसेका सोही संख्या बराबर एक मेडिकल अधिकृत र २ जना सुरक्षाकर्मी दिने व्यवस्था गरेको छ । त्यस्तै २५ जना संक्रमितका लागि २ जना नर्स वा पारामेडिक र २ जना सरसफाई कर्मचारी हुनुपर्ने मापदण्डले स्पष्ट व्यवस्था गरेको छ भने सेवा अवधि १२–१२ घण्टाको तोकिएको छ।

यता  ६ महिना अघि स्वास्थ्य मन्त्रालयले तयार पारेको मार्गदर्शनमा होम आइसोलेसनमा रहेका व्यक्तिहरुसँग सम्पर्क, समन्वय, आवश्यक स्वास्थ्य सल्लाह प्रदान तथा उद्धार गर्नका लागि प्रत्येक वडामा पारामेडिक १, नर्सिङ्ग स्टाफ १, स्वास्थ्य परिचारिका २ र सहयोगी १ जना खटाउने भनिएको थियो।

यता सामूहिक आइशोलेसनका लागि पारामेडिक ४, नर्सिङ्ग स्टाफ ४, मेडकल अफिसर १ र सहयोगी १ जना हुने व्यवस्था गरेको थियो । बुढाथोकीले हरेक आइसोलेसन केन्द्रमा स्टेथेस्कोप, थर्मोमिटर, वीपी सेट, पल्स अक्सिमिटर, टर्चलाइट र जाँचका लागि चाहिने अक्सिजन सिलिन्डर राख्नुपर्ने बताए।