क्रियाशील सदस्यको विवरण मंसिरभित्रै केन्द्र पठाउन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले क्रियाशील सदस्य (नयाँ र नवीकरण) को विवरण मंसिर मसान्तभित्र केन्द्रीय कार्यालय सानेपामा पठाइसक्न निर्देशन दिएको छ।

१४ औं महाधिवेशन नजिकिएको भन्दै कांग्रेसले क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गरी त्यसको विवरण केन्द्रमा पठाउन ७७ वटै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको हो।

कांग्रेस महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ।

कोरोनाभाइरस महामारीका कारण क्रियाशील वितरण तथा नवीकरणका काम प्रभावित बनेका थिए।

कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका कामलाई तीव्रता दिन पनि तल्ला तहमा रहेका पार्टी संरचनालाई निर्देशन दिएको छ।

कांग्रेसमा अहिले पाँच लाख हाराहारीमा क्रियाशील सदस्य छन्।

यो संख्या अबको महाधिवेशनमा दोब्बर हुने गरी क्रियाशील वितरणका काम भइरहेको कांग्रेसले जनाएको छ।

गत कात्तिक २८ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यताको काम मंसिरभित्र सक्ने निर्णय गरेको थियो।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशीलको विवरण अनिवार्य रूपमा केन्द्र पठाउन पत्राचार गरिसकिएको छ।

विवरण पठाउँदा क्रियाशीलको शुल्कसमेत पठाउनुपर्नेछ।

यस्तै प्रक्रिया पूरा नगरी क्रियाशील दिइएको पाइएमा त्यो नामावली स्वीकृत नहुने कांग्रेसले बताएको छ।

फागुन १३ र साउन ३२ मा केन्द्रबाट जारी भएका परिपत्रअनुसार क्रियाशील उपलब्ध गराउन कांग्रेसले भनेको छ।

कांग्रेसमा तोकिएकै समयमा महाधिवेशन गर्न सकिन्छ भन्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेता छन्।

समय अभाव हुने देखिएमा महाधिवेशन जेठ वा भदौमा गर्न सकिनेमा पनि बहस भइरहेको छ।

यदी फागुनमा महाधिवेशन भएन भने कांग्रेसले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यकाल बढाउन संविधानको साहरा लिनुपर्नेछ।

विधानअनुसार देउवाले एक वर्ष कार्यकाल थपेका थिए। फागुन १९ मा उक्त कार्यकाल सकिँदैछ।