जुवामा पक्राउ परेका अर्घाखाँचीका वडाध्यक्षले प्रहरीलाई छल्न दाङको ठेगाना लेखाए

जुवाको खालमा पक्राउ परेका अर्घाखाँचीका एक वडाध्यक्षले प्रहरीलाई झुक्याउन दाङको ठेगाना लेखाएको खुलासा भएको छ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुकेश आले सोमबार बिहान १ बजे दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियामा जुवाको खालबाट पक्राउ परेका थिए। ४२ वर्षीय वडाध्यक्ष आले पक्राउ परेका अरू जुवाडेसँगै जिल्ला प्रहरी कार्यालय घोराही दाङको थुनामा छन्।

तर, उनले प्रहरीलाई गलत ठेगाना लेखाएर लोकलाज छल्न खोजेको देखिएको छ। वडाध्यक्षले आफ्नो सही ठेगाना लुकाएर दाङको राप्ती गाउँपालिका वडा नं. १ ठेगाना लेखाएका अर्घाखाँचीका एक नेकपा नेताले सेतोपाटीलाई जानकारी दिए।

प्रहरीले सार्वजनिक गरेको नाम रुपेश र ठेगाना दाङको राप्ती गाउँपालिका वडा नं. १ भन्ने छ। तत्कालीन नेकपा एमालेबाट उनले निर्वाचन जितेको अर्घाखाँचीका ती नेकपा नेताले सेतोपाटीलाई बताए।

‘उहाँ हाम्रो जिल्ला अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष हो,’ ती नेताले भने, ‘लोकलाज छल्न र प्रहरीलाई झुक्याउन उहाँले दाङको ठेगाना लेखाएको हुन सक्छ।’

यो विषयमा बुझ्न खोज्दा दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले भने अनभिज्ञता व्यक्त गरे।

‘वडाध्यक्ष हो भन्ने हामीलाई सूचना छैन,’ डिएसपी खड्काले भने, ‘कसैले नाम-ठेगाना ढाँटेको भए पनि भोलि थाहा भइहाल्छ।’

दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियास्थित गोपाल खत्रीको घरमा सोही ठाउँका २१ वर्षीय यमबहादुर रानाले सञ्चालन गरेको राप्ती फेमिली रेस्टुरेन्टबाट वडाध्यक्ष आलेसहित ७ जना एक लाख ४६ हजार नगदसहित सोमबार १ बजे पक्राउ परेका थिए।

पक्राउ पर्ने अन्य व्यक्तिहरूमा प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं. ३ का ५० वर्षीय चुमानसिंह सुनार र ३५ वर्षीय अली साह, सरुमारानी वडा नं. १ का २४ वर्षीय एडिस मिया, ४० वर्षीय अकबर हुसेन मिया र ४४ वर्षीय कृष्णबहादुर रानाका साथै रेस्टुरेन्ट सञ्चालक राप्ती गाउँपालिका वडा नं. २ लालमटिया निवासी २१ वर्षीय यमबहादुर राना छन्।

जिल्ला प्रहरी प्रवक्ता खड्काले पक्राउ परेका सबैकाविरूद्ध अदालतबाट ७ दिनको म्याद सोमबार थप गरी अनुसन्धान गर्ने आदेश मिलेको जानकारी दिए।

 ‘जुवाडेहरूलाई स्थानीय प्रहरीले पक्राउ गरेर जिल्ला पठाएपछि आजै म्याद थपको काम पूरा भयो,’ डिएसपी खड्काले भने, ‘थप अनुसन्धानको काम मंगलबारदेखि सुरू होला।’

उनले कसैले नाम र ठेगाना ठगेको भए पनि मुद्दा चलाउँदा नाकगरिता चाहिने हुँदा त्यो झुट पत्ता लागिहाल्ने बताए।