‘दुवै हातमा लड्डु’ भन्दाभन्दै देउवा झन् अप्ठ्यारोमा

काठमाडौं, १३ फागुन । नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि उत्साही बनेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रबाट अप्ठ्यारोमा पर्न थालेका छन् । देउवालाई अहिले विभाजित नेकपाको दुवै समूहले तानातान गर्न थालेका छन् ।

प्रचण्ड र माधवकुमार नेपाल बुधबार बुढानिलकण्ठ पुगेरै देउवालाई सत्ता समिकरणको प्रस्ताव राख्न पुगे । प्रधानमन्त्री केपी शर्मा ओली पनि सत्ता छाड्नै परे प्रचण्ड र माधवकुमार नेपालभन्दा तेस्रो व्यक्तिको पक्षमा छन् । उनी देउवालाई नै चाहिरहेका छन् । अप्ठ्यारो पर्दा देउवाले साथ दिएकाले ओली उनीप्रति सकारात्मक छन् ।

नेकपाको दुवै समूहको रोजाइमा देउवा परिरहँदा पार्टीभित्र भने उनलाई अप्ठ्यारो परिरहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षधरहरु पार्टी सरकारमा जान नहुने लाइनमा छन् । महामन्त्री डा. सशांक कोइरालाले अर्को चुनाव जितेर मात्र प्रधानमन्त्री बन्नेतर्फ सोच्न देउवालाई भनेका छन् । वरिष्ठ नेता पौडेल पनि पार्टी सरकारमा जान नहुने पक्षमा छन् ।

देउवाले संसद पुनःस्थापनाको पक्षमा आफूलाई प्रस्तुत गरेका थिएनन् । उनी चुनावमा जोड दिइरहेका थिए । उनले नुवाकोट पुगेर गत हप्ता भनेका थिए,‘चुनाव भयो भने के हुन्छ ? त्यसैले चुनावका लागि तयार हुनुपर्छ ।’ देउवाको भुमिकाका कारण पनि उनलाई सरकारमा जानबाट रोक्न पार्टीभित्रका विरोधी समूह लाग्ने निश्चित देखिएको छ ।

काँग्रेस महाधिवेशन अबको ६ महिनाभित्र गर्नुपर्ने वाध्यकारी अवस्था छ । महाधिवेशन नगरे अहिलेको राजनीतिक दलसम्बन्धी व्यवस्थाले काँग्रेस नै खारेज हुनसक्छ । चुनाव वैशाखमा भएको अवस्थामा अध्यादेश ल्याउन लगाएर भएपनि महाधिवेशन सार्ने देउवाको चाहना पूरा हुनसक्थ्यो । अब उनीसामु महाधिवेशन गर्नुबाहेक विकल्प छैन ।

देउवाले प्रधानमन्त्री भएर महाधिवेशन गर्न सके जीत सुनिश्चित गर्ने आशा गरेको देखिन्छ । सत्ता र शक्तिको बलमा उनी पार्टी नेतृत्वमा पुनः पुग्ने सम्भावना पनि छ । त्यसकारण पनि देउवा सरकारमा जानबाट रोकिनसक्छन् । उनलाई पार्टीका प्रतिष्पर्धीहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. सशांक कोइरालालगायतले सरकारमा जानबाट रोक्ने रणनीति बनाइसकेको देखिन्छ । यसकारण देउवा पार्टीभित्रैबाट अप्ठ्यारोमा छन् ।-