सुनसरीबाट १ सय ८० किलो गाँजा बरामद, एकजना पक्राउ

२ मंसिर, काठमाण्डौ।

सुनसरी प्रहरीले सिमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ ।

ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्जबाट गाँजा बरामद गरेको हो ।

पराल लिन सिमापारी जानु पर्ने भन्दै मोटरसाइकल चालकले इजाजत माग्दै गर्दा प्रहरीले शंका मानी खाली ट्याक्टरको चेकजाँच गरेको थियो । सो क्रममा ट्रली भित्र थप क्याबिन बनाएर लुकाएर राखिएको ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको हो ।

प्रहरीले गाँजासहित ट्याक्टर सिमापारी कटाउन सहयोगीको भूमिका खेल्ने सन्तोष कुमार मेहतालाई समेत नियन्त्रणमा लिएको छ । मेहता स्थानीय विद्यालयमा कार्यरत शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

सुनसरी प्रहरीले बरामद गाँजा सहित पक्राउ परेका मेहतालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्ने क्रममा प्रहरी प्रमुख सञ्जय सिंह थापाले बरामद गाँजा तस्करीको तरिका बिलकुलै नौलो पाइएको बताए ।

उनले लामो समयदेखि गाँजा तथा लागुऔषध कारोबार भैरहेको हुन सक्ने देखिएकाले अनुसन्धान त्यसतर्फ केन्द्रीत गरिएको बताए ।