कलेजले भर्ना लिन नमानेपछि प्यारामेडिकलका विद्यार्थीहरु अन्योलमा

High school students at school, wearing N95 Face masks. Sitting in a classroom.

३ मंसिर, काठमाडौं ।

कलेजहरुले भर्ना लिन आनाकानी गरेपछि चिकित्सा शिक्षाको स्नातक तहका प्यारामेडिकल समूहका विद्यार्थीहरु अन्योलमा परेका छन् ।

विद्यार्थी संख्या कम भएको भन्दै कलेजले भर्ना लिन आनाकानी गर्न थालेको विद्यार्थीहरुको गुनासो छ । आयोगले गत साउन ९–१३ गतेसम्म लिएको एकीकृत प्रवेश परीक्षा पास गरी उनीहरु कलेजमा पढ्न जाने तयारीमा छन् । आयोगले पारामेडिकल विद्यार्थीका लागि ७६ वटा कलेजमा सिट संख्या तोकेको छ ।

विश्वविद्यालयले भर्ना लिएको ‘कन्फरमेसन’ अधिकांश कलेजहरुले लिन नमानिरहेको विद्यार्थीहरुको भनाइ छ । आयोगले पहिलो पटक लिएको एकिकृत प्रवेश परीक्षाको सबै विषयमा तोकिएको कोटाभन्दा धेरै कम संख्यामा उत्तीर्ण भएका छन् । उत्तीर्ण भएका विद्यार्थी मध्ये अधिकांशले छात्रवृत्तिमा नाम निकालेको र छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीहरु मात्रै कलेजमा भर्ना भइरहेको कारण कलेजले पढाउन नमानिरहेको विद्यार्थीहरुको आरोप छ ।

कर्णाली हेल्थ अफ साइन्स कलेज कलंकीमा बी फार्मा पढ्ने तीन जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् । विश्वविद्यालयले विद्यार्थीलाई दिएको ‘कन्फिरमेसन’ भने कलेजले लिएको र आयोगसँग छलफल गरेपछि पढाइ हुने नहुनेबारे जानकारी दिने बताएको छ ।

त्यस्तै मनमोहन मेडिकल कलेजमा नर्स पढ्ने ६ जना मात्रै विद्यार्थी छन् । कलेजले पनि विद्यार्थी कम भएको भन्दै विद्यार्थीको भर्ना लिन नमानिरहेको विद्यार्थीहरु बताउँछन् ।

कोभिड–१९ को कारण अगाडि नै दुई वर्ष समय खेर गएको र मिहेनतका साथ पढेर पास गरेको प्रवेश परीक्षापछि पनि कलेजले पढाइ नहुने बताउन थालेपछि मानसिक तनाव झेल्नु परेको उनीहरु बताउँछन् । प्रवेश परीक्षा पास गरेको अर्को परीक्षा नभएसम्म मात्रै मान्य हुने व्यवस्था छ । अर्को कुनै देश पढ्न जानको लागि पनि प्रवेश परीक्षा पास गरेको वर्षसम्म मात्रै मान्य हुन्छ ।

भर्नाका समयावधि १७ गतेसम्म आयोगले तोकेको छ । सोही सूचना अनुसार भर्नाको लागि विद्यार्थी जाँदा कलेजले हामी पढाउन सक्दैनौ भनेपछि आयोग पनि गएको बताउँछन् । उत्ता चिकित्सा शिक्षा आयोगले भने कलेजले नपढाउनेबारे जानकारी नदिएको भन्ने जवाफ दिएको उनीहरुको भनाइ छ । आयोगले विद्यार्थीको समस्या सुनेर पनि बेवस्ता गरेको गुनासो गर्दै एक विद्यार्थी भन्छन् ‘कलेज त गैर जिम्मेवार देखियो आयोग पनि त्यस्तै देखियो । पहिला जानकारी नभएपनि हामीले गुनासो गरिसकेपछि के रहेछ भनेर बुझ्नुपर्ने हो तर अझै पनि आयोगले हाम्रो समस्याबारे चासो राखिरहेको छैन ।’

आयोगको जवाफपछि फेरि कलेज पुगेका विद्यार्थीले कलेजलाई पढाउन नसक्नेबारे लिखित रुपमा जवाफ माग गरे । तर कलेजले लिखित रुपमा दिन नमानेको बताउँछन् । पब्लिक हेल्थ पढ्ने तयारी गरिरहेका एक विद्यार्थी भन्छन् ‘कलेज गयो पढाउन सक्दैनौं भन्छ, आयोग गयो कलेजले पढाउन सक्दैनौं भनेको छैन भन्छ । अब के गर्ने भनेर तनाब भइरहेको छ ।’ अयोगले १९ गतेदेखि कक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।

बीएस्सी पढ्ने तयारी गरिरहेकी एक छात्रा भन्छिन्, ‘विद्यार्थी कम नै भएको भए सबै विश्वविद्यालयका विद्यार्थीलाई एउटै कलेजमा राखेर पढाउँदा पनि हुन्छ होला तर खाली नपढाउने भनेर मात्रै बसेको छ । उपाय नै खोजेको छैन ।’ विद्यार्थीको भविष्यबारे कसैलाई मतलब नभएको उनको आरोप छ ।

मनमोहन मेडिकल कलेज, एपी मेडिकल कलेज, कान्तिपुर एकेडेमी अफ हेल्थ साईन्स, कर्णाली मेडिकल कलेज कलंकी, चक्रवर्ती हबी एजुकेशन एकेडेमी बिजुली बजार, भ्याली टेक्निकल कलेज, सन्जिवनी मेडिकल कलेज बुटवल, युनिक मेडिकल कलेज सप्तरी, युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्स भैरहवा लगायतका कलेजहरुले पढाउन आनाकानी गरिरहेको विद्यार्थीहरुले बताए ।

आयोगले सार्वजनिक गरेको एकीकृत परीक्षाको नतिजा र खाली संख्याः

कार्यक्रम आयोगले छुट्याएको कोटा उत्तीर्ण खाली
बीपीएच १४२० ५६५ ८५५
बीएससी नर्सिङ ११०० ५०४ ५९६
बी फर्मा ९०२ ५४७ ३५५
बीपीटी १५० ११४ ३६
बीएस्सी एमआईटी ७१ ३५ ३६
पब्लिक हेल्थ १४४० ५६५ ८७५
बीएससी एमएलटी ४२५ ११८ ३०७

पढ्न पाउँछन् : आयोग

चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयले भर्ना लिइसकेपछि विद्यार्थीको पढ्न पाउने अधिकार स्थापित भएको र उनीहरुले पढ्न पाउने जनाएको छ ।

आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले विश्वविद्यालयले भर्ना लिइसकेपछि उनीहरुको पढ्न पाउने अधिकार स्थापित भइसकेको र पढ्न पाउने बताए । कलेजले लिने भर्नाबारे गुनासो आइरहे पनि छलफल भने भर्ना समय सकिएपछि मात्रै गर्न सकिने आयोगले जनाएको छ ।

उपाध्यक्ष गिरी भन्छन्, ‘भर्ना भइसकेको विद्यार्थीको संख्या नआई हामीले अहिले भन्न सकिँदैन । भर्ना प्रकृया सकिएपछि यसको समाधान गर्छौं । आयोगले समस्याको समाधान गर्छ ।’

कलेजले पढाउने भन्ने सर्तमा कोटा छुट्याइएको र संख्याबारे केही सर्त नभएकोले संख्याको बाहानामा पढाउँदिन भन्न नपाउने गिरीले बताए ।

आयोगले तोकेको सिट संख्या

आयोगले पारामेडिकलको लागि ७६ कलेजलाई सिट संख्या तोकेको छ । जस अन्तर्गत बीएससी नर्सिङ तर्फ ११०० सय, बीएससी एमएलटी तर्फ ४२५, बीएससी एमआईटी तर्फ ७१, बीएससी मेडिकल माइक्रोबायोलोजी तर्फ २०, बीएससी मेडिकल बायोकेमेस्ट्रीलाई २०, बीपीटी तर्फ १५०, बीफार्मा ९०२, बीपीएच १४२०, बिओप्टोमेट्री ६७, बीएनएस (एमआईडी) ७०, बीएनएस ११९५, बीडीएस ५६५, बीएएसएलपी ६, बीएएमएस ८०, परफ्यूजन टेक्नोलोजी तर्फ ५ सिट निर्धारण गरेको छ ।