३ मंसिर, काठमाडौं ।
वीर अस्पतालले बिरामीको टिकट वितरणमा डिजिटल सेवाको शुरुवात गरेको छ । शुक्रबारदेखि अस्पतालले मोबाइल एप्लिकेसनमार्फत् अनलाइन टिकट लिन सक्ने गरी सेवा विस्तार गरेको अस्पतालले जनाएको छ ।
यो सेवाको लागि बिरामीले मोबाइलको प्लेस्टोरमा गएर ‘वीर अस्पताल’ एप्लिकेसन डाउनलोड गरी एपबाटै टिकट काट्ने र आफूलाई आवश्यक पर्ने चिकित्सकसँग समय लिन सक्नेछन् ।
सो प्रविधि अनुसार अब बिरामीले सिधै डाक्टर भेट्न मात्रै अस्पताल गए हुने भएको छ । यो प्रविधि अहिलेलाई ओपीडी सेवामा मात्रै लागू गरिएको छ । यो परीक्षणकाल भएकोले ओपीडीमा मात्रै लागू गरिएको र बिस्तारै सबै सेवामा यो प्रविधि विकास गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालले यसअघि नै अनलाइनबाटै रिपोर्ट लिन सकिने सुविधा दिइसकेको छ ।
स्मार्ट कर्णाली । ३ मंसिर २०७८, शुक्रबार १९:४७ बजे