काठमाडौं, १४ पुस । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले माओवादी केन्द्रको आन्तरिक संकट मोचनका निम्ति मात्र पार्टी एकता सम्भव नहुने स्पष्ट पारेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले भने, “प्रचण्डजीसँग हाम्रो महासचिवको दुई राउन्ड कुरा भएको हो । कृष्णबहादुर महरा र मेरो कुरा हुँदा एकता प्रस्ताव आएको हो । तर एकता केका निम्ति गर्ने हो, त्यो क्लियर हुनुपर्यो ।”
माओवादी विगतको बाटोमा विचलित भएकाले आफूहरुबीच सैद्धान्तिक र राजनीतिक धेरै भिन्नता रहेको उनको दाबी छ । उनले थपे, “प्रचण्डजी विचार र व्यवहारमा सच्चिएर प्राक्टिकल्ली आउनुभयो भने ठीकै छ । तर नेपाली जनतालाई भ्रमित पार्ने र आम नेपालीबीचमा सर्वाधिक बदनाम र फेलियर ससदीय व्यवस्थाको फोहारी खेलमा डुबाउने षड्यन्त्र हो भने सम्भव छैन । कसैको आन्तरिक संकट मोचनका निम्ति एकताको कुरा गरेको हो भने पनि त्यो सम्भव छैन ।”
नेता विश्वकर्माले एमसीसी विकासको आवरणमा नेपाललाई बरबादीमा लाने षडयन्त्र भएको आरोप पनि लगाए । उनले भने, “एमसीसी वैदेशिक हस्तक्षेप गराउने प्रोजेक्ट हो । राष्ट्रघात र आत्मसमर्पण गराउने सम्झौता हो । शेरबहादुर देउवा सरकारको आयु लम्ब्याउन सुपर पावरको विश्वास जित्नुपर्ने र मालिकको खातिदारी मात्र हो । ५५-६० अर्ब कथित अनुदान आयो भने चरम भ्रष्टाचार गर्न पाउने आशा होला। हामी विकासको आवरणमा नेपाललाई विश्व राजनीतिको क्रिडास्थल बनाउन दिँदैनौं । एमसीसी जनविरोधी र देशघाती छ ।”
उनले सरकारसँग भएको तीन बुँदे सहमति तोडिए नराम्रो हुने चेतावनी पनि दिए । उनले थपे, “केपी ओलीजीसँग हाम्रो तीन बुँदे सहमति भयो । प्रतिबन्ध त फिर्ता भयो । तर पाँच महिना बितिसक्दा पनि हाम्रा बन्दी साथीलाई छाड्ने र झूटा मुद्दा खारेज गर्ने कुरा भएनन् । शेरबहादुर देउवा आएपछि पनि ढिलासुस्ती भएको छ । दुईतीन पटक कुराकानी भयो । तर काम भएको छैन । तीन बुँदे सहमति तोडियो भने कसैलाई राम्रो हुँदैन ।”
स्मार्ट कर्णाली । १४ पुष २०७८, बुधबार १२:२२ बजे