सुर्खेत : राष्ट्रिय युवा संघ कर्णालीको अध्यक्षमा जीवन शाही चयन भएका छन्। वीरेन्द्रनगरमा भएको युवा संघको पहिलो प्रदेश अधिवेशनले दैलेखका शाहीलाई अध्यक्षमा सर्वसम्त चयन गरेको हो। शाही यसअघि युवा संघ दैलेखका अध्यक्षसमेत हुन् ।
यस्तै उपाध्यक्षमा कालिकाेटका गणेश शाही, सचिवमा सुर्खेतका पिटर चुनारा, सह-सचिवमा जुम्लाका बद्री बाेहाेरा र सल्यानका नवराज शाही र काेषाध्यक्षमा हुम्लाका माेहन बुढा चयन भएका छन् । सदस्यहरूकाे टुंगाे भने यसअघि नै लागि सकेकाे थियाे ।
कर्णाली प्रदेश कमिटीका सदस्यहरु कर्णाली प्रदेशका १० जिल्लाबाट सर्वसम्मत चयन गरिएको छ। जसमा सुर्खेतबाट ६ जना, दैलेखबाट ५ जना अन्य जिल्लाबाट चार/चार जना गरि जम्मा ४३ जना सर्वसम्मत रुपमा चयन भएका छन्।
अध्यक्षका लागि शाहीसँगै चार जनाको दाबी रहेको थियो। यसरी दाबी गर्नेमा जाजरकोटका लोकेन्द्र गौतम, सुर्खेतका कमल खड्का र कमल विसी रहेका थिए।
अध्यक्षमा चयन भएका शाही २०६९ मा दैलेख–काठमाडौं सम्पर्क मञ्च अध्यक्ष, २०७० मा कृष्ट कलेज काठमाडौंको अनेरास्ववियू ईकाइ कमिटी अध्यक्ष, २०७३ मा युवा संघ दैलेखका सचिवालय सदस्य र नेकपाकालिन अवस्थामा जिल्ला युवा संघ दैलेखको संयोजक तथा केन्द्रीय सचिवालय सदस्य थिए । नेकपा विभाजनपछि पनि उनी दैलेख युवा संघका अध्यक्ष थिए । उनी स्वास्थ्यकर्मी पनि हुन् ।
स्मार्ट कर्णाली । १० भाद्र २०८०, आईतवार ११:०९ बजे