कुशे गाउँपालिकाकी एक गर्भवती महिलाईलाई हेलिकप्टरबाट उद्धार

कुशे गाउँपालिका–९ बाट एक गर्भवती महिलालाई शुक्रबार हेलिकप्टरद्धारा उद्धार गरिएको छ । चारदिन देखि सुत्केरी ब्यथाले थला परेकी गर्भवती महिलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

कुशे गाउँपालिका–८ लाँताकी तुल्सी सुनारलाई नेपाली सेनाको हेलिकप्टरबाट क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेत लगिएको प्रहरी निरिक्षक केशरबहादुर कार्कीले जानकारी दिए ।

चार दिनदेखि सुत्केरी हुन नसकेकी ४५ बर्षिय तुल्सी सुनारको ज्यान जोगाउन जिल्ला प्रशासन कार्यलयको समन्वयमा नेपाली सेनाको हेलिकप्टर प्रयोग भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

तुल्सीलाई सुत्केरी ब्यथा लागेपछि चार दिन पहिला पैंक स्वास्थ्य चौकीमा भर्ना गरिएको पारिवारीक श्रोतले जनाएको छ । पैंक स्वास्थ्य चौकी ईन्चार्ज रामसिंह मण्डललाई उदृत गर्दै कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बच्चा पेटमा उल्टो भएपछि तुल्सीलाई पैंक स्वास्थ्य चौकीमै उपचार गर्न सम्भव नभएको बताए । पैंक स्वास्थ्य चौकीमा तुल्सीले बच्चा जन्माउन नसकेपछि उनलाई क्षेत्रिय अस्पताल कालागाउँ सुर्खेत लिनुपर्ने अबस्था आएको प्रजिअ पन्तले बताए । तुल्सीलाई कुशे गाउँपालिका–९ भानकोबाट हेलिकप्टरमा राखेर सुर्खेत कालागाउँ क्षेत्रिय अस्पतालमा पुर्याईएको हो ।

अहिले उनको क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा उपचार भईरहेको बताईएको छ । घरमा २ छोरा र २ छोरीको आमा तुल्सीले पाँचौ सन्तान जन्माउन खोज्दा यस्तो समस्या आई लागेको कुशे गाउँपालिका–८ का वडाअध्यक्ष अम्मरबहादुर रोकाले बताए ।