थवाङवासी सधै सत्ताविरोधी

समाचार विश्लेषण । रोल्पाको थवाङ नेपालको राजनीतिमा विशेष महत्वको क्षेत्र हो । थवाङले पञ्चायती व्यवस्थाप्रति तिव्र विरोधको शैली देखायो । राष्ट्रिय पञ्चायतको चुनावमा सुन्य मतदानका कारण आफूलाई देशभर चिनायो ।

पञ्चायती व्यवस्थापछि बहुदल आयो । बहुदलपछि बनेको सरकारले गराएका चुनावमध्ये कतिपयमा बहिष्कारको आव्हानलाई समर्थन गर्यो । माओवादी जनयुद्धको आधार स्थल मानिएको थवाङमा बहुदलकालमा भएका चुनावहरुमा निकै कम मतदान भएको इतिहास साक्षी छ । थवाङमा चुनाव गर्नै मुश्किल परेको घटना छन् । थवाङवासी मतदानमै सहभागी भएनन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि भएको पहिलो संविधानसभाको चुनावमा थवाङमा उत्साहप्रद मतदान भयो । तर, पछिल्लो संसदको चुनावमा कम मत खस्यो । यसपटक थवाङ गाउँपालिका १ को वडाध्यक्षको चुनावमा जम्मा १६ प्रतिशत मात्र मत खस्यो । थवाङवासीले सत्ताप्रति विरोधको शैली देखाए ।
नेत्रविक्रम चन्द विप्लव समूहको प्रभाव रहेको थवाङले फेरि आफूलाई सत्ताको विरोधी देखायो । उपनिर्वाचनमा थवाङको वडामा मात्र २०९ मत खस्यो । यसलाई निकै अर्थपूर्ण मानिएको छ । थवाङले फेरि सत्ताविरोधी शैली देखाएको चर्चा चलिसकेको छ ।

पञ्चायतकालमा रोल्पामा कट्टर राजावादीहरु चुनाव जित्थे । तर, रोल्पाले बहुदलका लागि महत्वपूर्ण योगदान गर्यो । सत्ताप्रति तिव्र असन्तुष्टि देखायो । बहुदलपछि रोल्पामा काँग्रेस र कम्युनिष्टले चुनाव जितेको इतिहास छ । तर, रोल्पामा पुनः कम्युनिष्ट हावी भए । काँग्रेस सत्तामा थियो भने कम्युनिष्ट सत्ता बाहिर ।

काँग्रेस र तत्कालिन नेकपा एमालेभन्दा भिन्न कट्टर कम्युनिष्ट तत्कालिन माओवादीको आधारभूमि बन्यो रोल्पा । विद्रोही शैली रोल्पाको इतिहास बनिसक्यो । यसपटक रोल्पाको लिवाङमा सत्तामा रहेको नेकपाका उम्मेदवारले चुनाव जितेपनि जुन प्रतिशतको मत खस्यो त्यसले बहिष्कारको पक्षलाई साथ दिएको सन्देश गयो । लिवाङ फेरि सत्ताप्रति तिव्र असन्तुष्टि जनाउन पुग्यो reportersnepal.com