पशुपतिमा शव जलाउन पनि घुस !

२६ कात्तिक, काठमाडौं । पशुपति आर्यघाटको चिता नम्बर १ मा दुई साताअघि खोटाङकी चुनादेवी कटुवालको शव जलाइँदै थियो । मलामी गएका आफन्तहरु भावविह्वल थिए ।

शव जलेर सकिनै लाग्दा मृतकका आफन्त हेमराज कार्कीले शव जलाउने काममा खटिएका पशुपति क्षेत्र विकास कोषका कर्मचारीलाई नजिकै बोलाए र ६०५ रुपैयाँ दिए ।

पैसा लिनेबित्तिकै ती कर्मचारी निकै रिसाए, कार्कीलाई पिटौंला झैं गरेर झम्टिए । उनले कार्कीसँग २ हजार रुपैयाँ दिनुपर्ने माग गरे । कार्कीले २ हजार रुपैयाँ थपिदिए ।

आर्यघाटमा दाहसंस्कारका लागि लैजानेले शव पु¥याउनेबित्तिकै शुरुमा पशुपति क्षेत्र विकास कोषको काउन्टरमा पैसा तिरेर चिता बुक गर्नुपर्छ । त्यसपछि शव जलाउने सबै जिम्मा कोषले लिन्छ । शव जलाउने कर्मचारीलाई अतिरिक्त रकम मृतकका आफन्तले दिनुपर्दैन । तर हिजोआज आर्यघाटमा मृतकका आफन्तसँग घुस लिने घटना धेरै देखिन थालेका छन् ।

आफूले मानवीय हिसाबले ६०५ रुपैयाँ दिँदा ती कर्मचारी रिसाएको देख्द नमज्जा लागेको कार्की बताउँछन् । ‘परिवार सबै शोकमा थियो, त्यस्तो बेलामा ती मान्छेले झम्टिए’ कार्की भन्छन्, ‘त्यस्तो शोकको बेलामा झगडा गर्ने कुरा पनि भएन, त्यसैले मागेभन्दा बढी रकम दिन बाध्य भएँ ।’

कार्की प्रतिनिधि पात्र मात्रै हुन् । पशुपति आर्यघाटमा दाहसंस्कारका लागि जानेहरुमाथि यस्तै व्यवहार हुन्छ । उनीहरुले मागेजति पैसा दिए त ठिकै छ, नदिए कुटाइ नै खानुपर्ने डर हुन्छ ।

शव जलाउनेहरुको यस्तै दादागिरी चल्ने हो भने भोलि पशुपति आर्यघाटमा सामान्य मान्छेले दाहसंस्कार गर्नै नसक्ने दिन आउने कार्की बताउँछन् । ‘यहाँ त विधि र प्रक्रिया होइन दादागिरी चलिरहेको छ’ कार्की भन्छन्, ‘यस्ता कामहरु नरोकिए त सामान्य मान्छेलाई गाह्रो पर्ला ।’

घुस माग्नेलाई कारबाही

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा शव जलाउन पनि घुस मागेको गुनासो आउने गरेको बताउँछन् ।

खतिवडाका अनुसार आर्यघाटमा दाहसंस्कार गर्दा ६ देखि ४० हजार रुपैयाँसम्म खर्च लाग्छ । सामान्य तरिकाले शव जलाउन ६ हजार रकम भए पुग्छ । तर शव जलाउन लाग्ने घिउको मात्रा, मृतकको शव सजावटमा आफन्तले अतिरिक्त खर्च गर्न सक्छन् । तर शव जलाउने काम गर्ने पशुति क्षेत्र विकास कोषका कर्मचारीलाई पैसा दिनुपर्दैन ।

उनीहरुले कोषबाट नियमित पारिश्रमिक पाउँछन् ।

कोषमा पैसा तिरेको रसिद ल्याएपछि अरु ठाउँमा शुल्क तिर्नु पर्दैन । तर शव जलाउने केही व्यक्तिहरुले शोकमा परेका मृतकका आफन्तलाई धम्क्याएर रकम असुल्ने गरेको खतिवडा स्वीकार गर्छन् । ‘यो गैरकानुनी कार्य हो, हामीले यस्ता काम गर्नेलाई कारबाही गरिहाल्छौं’ उनले भने, ‘पछिल्लो पटक यसरी पैसा माग्ने दुई जनालाई कारबाही गरिसकेका छौं ।’

मृतक परिवारले राजीखुशीमा रकम दिन पाउने, तर कर्मचारीले माग्न नपाउने उनी बताउँछन् ।

कटुवालको शव जलाउँदा घुस माग्ने कर्मचारी विष्णुप्रसाद ढकाललाई २ महिना र उनका सहयोगी केशव नाम गरेका व्यक्तिलाई एक महिनाका लागि निलम्बन गरेको खतिवडाले बताए ।