पूर्व मुख्यमन्त्री शाही भन्छन्–‘राजनीति दुई दिनको अस्थाई जागिर होइन्

कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजनीति दुई दिनको अस्थाई जागिर नभएको टिप्पणी गरेका छन् ।  गृह जिल्ला कालिकोटमा घरदैलो कार्यक्रममा व्यस्त शाहीले  राजनीतिलाई अस्थाई जागिर जस्तो नभई नमरुञ्जेल गरिने पेशा​को रुपमा लिनुपर्ने बताएका हुन् ।


कालिकोटबाट प्रतिनिधि सभाका लागि गठबन्धनका साझा उम्मेदवार समेत रहेका शाहीले सडक पुर्वाधारको स्तरोन्नती, बिजुली, शिक्षा र युवा स्वरोजगार आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।  उनले भने ,‘ चुनाव जित्ने भनेकै केही विकास र परिवर्तन गर्नका लागि हो । भोली पदमा रहेपनि नरहे पनि, जनप्रतिनिधि भएपनि नभएपनि नमरुञ्जेलसम्म गरिने पेशा नै राजनीति हो ।’



उनले जनतामा भ्रम फैलाएर चुनाव जित्ने काम आफूबाट नहुने बताए । ‘हामी जे कुरा सम्भव छ त्यो कुरा मात्रै भन्छौं र गर्छौँ पनि’ उनले भने,‘०७० सालमा मैले चुनावमा प्रतिबद्धता गरेका अधिकांश कुराहरु कार्यान्वयन भइसकेका छन् ।’



आफू मुख्यमन्त्री हुँदा कालिकोटमा विद्युत पु¥याउन निकै जोड गरेको बताउँदै उनले अबको केही बर्षभित्र कालिकोटका गाउँ बस्ती पूर्ण रुपमा विद्युतिकरण गरिसक्ने लक्ष्य लिइएको बताए । उनले सडकको ट्रायक ओपन धेरै ठाउँमा भएकाले मुख्य राजमार्गदेखि गाउँ जोड्ने सडकलाई कालोपत्रे गर्नेमा जोड दिइने बताए । अबको एक बर्षभित्र सुनथराली विमानस्थल सञ्चालन गर्नेदेखि मान्म–कोटबाडा केवलकार निर्माण गर्ने उनले आफ्नो चुनावी प्रतिबद्धतामा उल्लेख गरेका छन् ।



साथै उनले आसन्न निर्वाचन पछि कर्णाली सरकार पनि गठबन्धनकै बन्ने दाबी गरे । ‘माओवादी–कांग्रेस जस्ता ठुला पार्टी मिलेको अबस्थामा पराजित हुने भन्ने कुरा नै हुँदैन्,’उनी भन्छन् ।



माओवादी नेता शाहीसँग यो पटक एमालेका नागेन्द्र शाही ‘नेशनल’ले प्रतिस्पर्धा गर्दैछन् । माओवादीको प्रभाव रहेको कालिकोटमा व्यक्तिगत रुपमा शाही बलिया भएपनि उनका विरुद्ध माओवादीकै काशिचन्द्र बरालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसले गर्दा शाहीलाई थप चुनौती बढेको छ ।