हुम्ला कर्णाली थुनिएको आशंका, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सुर्खेत – चीनको तिब्बत हुँदै बग्ने हुम्ला कर्णाली थुनिएको आशंका गरिएको छ। नाम्खा गाउँपालिकाको मुचु क्षेत्रमा पानीको बहाव घटेपछि तल्लो तटीय क्षेत्रका बस्तीका बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले अपिल गरेको छ। मुचु क्षेत्र चीनसँगको सिमाना हिल्सादेखि १४ किलोमिटर दक्षिणमा पर्छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले मुचुभन्दा तल्लो क्षेत्रमा पानीको सहत घटेको जानकारी आएको बताए। ‘हिउँले नदी थुनिएको हो वा पहिरोले थुनिएको हो भन्ने विषयमा अहिलेसम्म जानकारी आएको छैन्’ प्रजिअ ढुंगानाले भने, ‘मुचु क्षेत्रमा पानीको बहाव घटेको जानकारी आएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन अपिल गरिसकेका छौं।’ अत्याधिक चिसो र हिउँ वर्षाका कारण हिल्सा प्रहरी चौकी खाली छ। प्रजिअ ढुंगानाले दिउँसो दुई बजेदेखि पानीको सतह घटेको बताए।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पानीको सहत घटेको जानकारी आएसँगै स्थानीय प्रशासनमार्फत तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन अपिल गरिएको बताए। ‘मुचुभन्दा तल्लो तटीय क्षेत्रमा पानीको सतह घटेको जानकारी आएको छ, स्थानीय प्रशासन र स्थानीय तहमार्फत तल्लो तटीय क्षेत्रमा सचेत रहन अपिल गरेका छौं’ आन्तरिक मामिला मन्त्री भण्डारीले भने, ‘आवश्यक परेको अवस्थामा उद्धारकार्यकालागि सचेत रहन सबै प्रक्रिया अपनाएका छौं।’ हुम्लामा तीन दिनयता लगातार हिउँ परिरहेको छ। मुचु क्षेत्रमा छ फिटसम्म हिउँ परेको छ।nagariknetwork.com