विवेकशील साझाको डेढ लाख सहयोग कालिकोटका अग्नि पीडितलाई

सुर्खेत– कालिकोटको पलाता गाउँपालिकाको न्यौपाने बस्तिका आगलागी पीडितहरुको आवास निर्माणका लागि विवेकशील साझा पार्टी, कर्णाली प्रदेशले सहयोग गरेको छ।

पार्टीले कार्यकर्ता र शुभेच्छुकहरुबाट संकलन गरि विवेकशील साझाले एक लाख ५१ हजार रुपैयाँ आवास निर्माणका लागि सहयोग उपलव्ध गराएको हो।

विदेश तथा स्वदेशबाट संकलन भएको रकम बराबरको चेक आईतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बुझाएको छ। कालिकोटको खाडा पुस ८ गते राती २ वजे भएको आगजनीबाट ३३ घरपरिवार विस्थापित भएका छन्।

उनीहरुको पुनस्थापनामा सरकारले ढिलाई गरेको भन्दै विवेकशील साझा पार्टी कर्णाली प्रदेशका संयोजक गेहेन्द्रप्रसाद दाहालले आवास निर्माणमा सरकारले ध्यान दिन मुख्यमन्त्रीसामु आग्रह गरे। उनले प्रदेश सरकारले वास्तविक पीडितहरुको पहिचान गरि यथासक्य पुनःस्थापनाको काम अगाडी बढाउनुपर्ने माग गरे। ‘तत्कालिन रुपमा प्रदान गरिने राहत सामग्रीबाट दीर्घकालिन समस्या समाधान हुदैन्’ उनले भने, ‘दीगो रुपमा आगलागी पीडितहरुले बसोबास हुने गरि समयमा सरकारले कदम चालोस्।’

आगलागी पीडितलाई आर्थिक रुपमा सहयोग गर्ने राजनैतिक दलको तर्फबाट विवेकशील साझा पहिलो दल बनेको छ। न्यौपाने बस्तिमा भएको आगलागीबाट विस्थापीत परिवारलाई पाँच लाख रुपैयाँ उपलव्ध गराउने निर्णय प्रदेश सरकारले गरेको छ। उक्त निर्णय कार्यान्वयनमा उदासिन नहुन उनले अनुरोध गरे।

मुख्यमन्त्री शाहीले प्रदेश सरकार आवास निर्माणका लागि प्रयत्नरत रहेको बताए। आगलागीबाट पिडित परिवारहरुको पुनस्र्थापनाका लागि अग्नि पिडित परिवार पुनस्र्थापना कार्यक्रम संचालन गर्ने निर्णय कर्णाली प्रदेश सरकारको ३२ औं मन्त्रीपरिषद् बैठकले गरिसकेको स्मरण गराए। जसअन्तर्गत प्रदेशले आगलागी पिडितहरुको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोग र प्रति घरपरिवार नगद ५ लाख आर्थिक सहयोग गर्ने उनले उल्लेख गरे। deshsanchar.com