सुर्खेत । मुगु, जुम्ला, कालिकोट हुँदै कर्णाली प्रदेश राजधानी सुर्खेत जोड्ने कर्णाली राजमार्ग र सल्यानलाई प्रदेश राजधानी सुर्खेतसँग जोड्ने सडक हिलो र पहिरोले अवरुद्ध भएपछि यातायात सेवा बन्द भएको छ । लगातारको वर्षापछि सडक भत्किँदा कर्णाली राजमार्गमा चल्ने यातायात सेवा प्रभावीत भएका छन् । भने सल्यान–सुर्खेत बस सेवा बन्द भएको हो । सुर्खेतसम्म सञ्चालन हुने बस सेवा बन्द भएपछि सल्यानका नागरिकलाई प्रदेश राजधानी पुग्न सकस भएको छ ।
कर्णाली राजमार्गको कालेखोलामा गएको पहिरोले पाँच दिन यता सडक अवरुद्ध छ । सल्यान खलंगा–बालुवासंग्रही हुँदै सुर्खेतसम्म करिब चार घण्टामा पुग्ने सडक पहिरोका कारण अवरुद्ध छ । जेठको अन्तिम सातादेखि सल्यान–सुर्खेत सीधा बस सेवा सञ्चालनमा आएको थियो। तर, अहिले यातायात अवरुद्ध हुँदा समस्या परेको शारदा नगरपालिका–८ का खुमबहादुर कुवँरले बताए। सीधा यातायात सेवा सञ्चालनमा नुहँदा अहिले दाङ हुँदै आउजाउ गर्नुपर्ने बाध्यता छ ।
केही समय अघिमात्रै सीधा बस सेवा सञ्चालन हुँदा जिल्लावासीलाई राजधानीसम्म पुग्न सहज भएको थियो। तर एक महिना नपुग्दै सेवा बन्द हुँदा समस्या परेको शारदा नगरपालिका– १० का वडाध्यक्ष रेशम बुढाथोकीले बताए। ‘प्रायजसो राजधानी सुर्खेतमा कामपर्ने गरेकाले सीधा यातायात सेवा सञ्चालन हुँदा सहज भएको थियो’, उनले भने, ‘तर अहिले वर्षात्को समयमा सेवा अवरुद्ध हुँदा समस्या परेको छ।’ अहिले यहाँका स्थानीय प्रदेश ५ को तुल्सीपुर–कोहलपुर हुँदै सुर्खेतसम्म पुग्ने गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी चूडाराज न्यौपानेले यस विषयमा पूर्वाधार विकास कार्यालयमा पत्र पठाइसकेको बताए । प्रदेश राजधानीसँग जोड्ने मोटरबाटोमा वर्षात्को समयमा आउने पहिरो हटाउन त्यस क्षेत्रमा डोजरको व्यवस्था गर्न बनगाडकुपिण्डे नगरपालिकासँग सहकार्य भइरहेको उनले जानकारी दिए । यसैबीच अविरल वर्षात्को समयमा जिल्लाका ग्रामीण भेगमा कच्ची सडक अवरद्ध हुँदा स्थानीयलाई सास्ती भोग्नु परेको छ। यहाँका दर्जनभन्दा बढी कच्ची सडक अवरुद्ध भएपछि ग्रामीण भेगमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । ठाउँठाउँमा गएको पहिरो र सडक हिलाम्मे भएका कारण यातायात अवरुद्ध भएपछि स्थानीयलाई सास्ती हुने गरेको हो ।
पानी परेपछि सडक हिलाम्मे भएका, खाल्डाखुल्डी परेका र खोला बढेकाले जिल्लाको कुमाख गाउँपालिका, दार्मा गाउँपालिका र कालिमाटी गाउँपालिकाका स्थानीयले जोखिपूर्ण यात्रा गर्न बाध्य भएका छन् । खलंगा–बालुवासंग्रही, सल्लीबजार–चौरजहारी, सल्लीबजार–बामे, खलंगा–रामपुर–बालुवा, शीतलपाटी–चाँदेकरेन्जी, स्यानीखाल, माल्नेटालगायत सडकमा यातायात अवरुद्ध छ ।
स्मार्ट कर्णाली । १५ श्रावण २०७६, बुधबार ०९:४७ बजे