सुत्केरीलाई २५ हजार सहयोग

काठमाडौँ, २७ मंसिर । उपचार खर्च तिर्न नसकेर अस्पतालबाट डिस्चार्ज हुन नपाएकी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ की ललितादेवी खंगलाई हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेशकुमार साहले २५ हजार रुपैयाँ सहयोग गरेका छन् । नगरप्रमुख साहले कान्तिपुरमार्फत ललिताका पति गोपीकुमार खंगलाई रकम प्रदान गरेका हुन् ।

एक महिनाअघि सुत्केरी भएकी ललितादेवीले विराटनगरस्थित विराटनगर अस्पतालमा उपचारबापत ३ लाख र औषधिको ५० हजार रुपैयाँ तिर्नुपर्नेछ । विराटनगरकै जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा जुम्ल्याहा छोरी जन्माएपछि ललितलाई उपचारका लागि विराटनगर अस्पताल लगिएको थियो । बिल तिर्न सकेको भए उनी १० दिनअघि नै डिस्चार्ज हुन्थिन् । ललिताले जन्माएका दुई शिशुमध्ये एकको सेन्टरमै मृत्यु भएको थियो । अर्की भने स्वस्थ छिन् । उनलाई सप्तरीस्थित घर ल्याइएको छ । गोपीकुमार पैसा जुटाउन गाउँ–गाउँ घुमिरहेका छन् । उनको घरबाहेक जग्गा छैन । ‘जग्गा भए बेचेरै पनि श्रीमतीलाई अस्पतालबाट ल्याउँथेँ,’ उनले भने ।
कान्तिपुर दैनिकबाट