कर्णालीका मन्त्रीलाई ओलीका तर्फबाट नेम्वाङको फोन– यही सरकार कायम रहन्छ, विवाद नबढाउन आग्रह !

कर्णाली प्रदेशमा ३ दिनयताको तनाव साम्य हुने संकेत देखिएको छ ।

कर्णाली प्रदेश सरकारका दुई मन्त्रीलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट पूर्व सभामुख सुवास नेम्वाङले फोन गरेर विवाद थप बढाउने गरी अघि नबढ्न निर्देशन दिएका छन् । सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बूढालाई फोन गरेर उनले सो निर्देशन दिएका हुन् ।

मन्त्री बूढाले यही सरकार निरन्तरता दिन पार्टी हेडक्वाटरबाट निर्देशन आएको बताए । सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले यही सरकारलाई निरन्तरता दिन निर्देशन आएको जानकारी दिइन् । मन्त्री फेरबदल हुने कि नहुने पछिको कुरा रहेको बताउँदै उनले केही समयमा नै प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट लिखित निर्देशन नै आउन लागेको थाहा पाएको उनले बताइन् ।

प्रदेश सभामा नेकपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा विवाद बल्झिएको थियो ।,lokaantar.com