मुगु लग्नुपर्ने चामल भक्तपुर पठाए सरकार राजनीति खिचातानी मा ब्यस्त जनता भोकै

  1. सुर्खेत – मंगलबार, कात्तिक १८,
    मुगु लग्नुपर्ने अनुदानको चामल भक्तपुर पठाएपछि…
    कर्णालीका लागि आएको अनुदान(सहुलियत) को चामल अन्यत्र लैजाने ढुवानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका आपूर्तिकर्ता तथा शर्मा ढुवानी सेवाका सञ्चालक वासुदेव शर्मा रहेका छन्। उनलाई प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको हो।

कम्पनीको वीरेन्द्रनगरस्थित गोदामबाट शर्माले मुगुको कालैका लागि भनेर गत साता चामल उठाएका थिए। तर, उक्त चामल मुगु नपठाई उनले भक्तपुरका लागि पठाउँदा प्रहरीले चामल नियन्त्रणमा लिएको हो। वीरेन्द्रनगरको सुब्बाकुना नाकाबाट प्रहरीले चामल नियन्त्रणमा लिएको हो।

वीरेन्द्रनगरको दुर्गाभगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सको नाममा बिल बनाई कर्णालीका लागि अनुदानमा आएको दुई सय ५० क्विन्टल चामल पठाएको थियो। दुर्गाभगवती सप्लायर्स वासुदेव शर्मा स्वामित्वको फर्म हो।

प्रहरीले चामल नियन्त्रणमा लिनेबित्तिकै बयानका लागि बोलाए पनि शर्मा प्रहरी कार्यालय गएका थिएनन्। तर, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले फरार हुनुभन्दा अनुसन्धानमा प्रहरीलाई सहयोग गर्न सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत मार्फत खबर पठाएपछि शर्मा मंगलबार जिल्ला प्रहरी कार्यालय आइपुगेका प्रहरी उपरीक्षक राजेन्द्र भट्टले जानकारी दिए।

उनले भने, ‘स्वास्थ्य परीक्षणपछि म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लग्ने तयारीमा छौं। यस विषयमा थप अनुसन्धान भइरहेको छ।’ उनीमाथि कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको भट्टले जानकारी दिए।