२३ कात्तिक, काठमाडौं ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति आज घोषणा हुँदैछ ।
संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्षका लागि उम्मेदवारी दिने निर्धारित मितिसम्म उपाध्यायको मात्रै उम्मेदवारी परेको थियो । एक साता अघि नै उपाध्याय नै अध्यक्ष हुने पक्का भए पनि घोषणा भएको छैन ।
उनी यसअघि संघको उपाध्यक्ष थिए । संघमा दुई नयाँ सदस्यहरू समेत चयन भएका छन् । नेपाल क्रेडिट एण्ड कमर्श बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको कार्यकाल पूरा भएको र सनराइज बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल बैंकबाट बाहिरिए पछि दुई सदस्य रिक्त थियो।
सदस्य पदमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चयन भएका छन् ।
रिक्त यी पदमा दुई जनाको मात्रै उम्मेदवारी परेकाले दुवै जना सर्वसम्मत चयन भएको संघका कार्यकारी निर्देशक शर्माले जानकारी दिए ।
स्मार्ट कर्णाली । २३ कार्तिक २०७८, मंगलवार ०७:१९ बजे