गगन थापाले देउवालाई भने : अदालतबारे मौन बसे कांग्रेसले मूल्य चुकाउनुपर्छ

२८ कात्तिक, काठमाडौं ।

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सर्वोच्च अदालतको विवादमा मौन बसे पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै थापाले पार्टीको मौनतामाथि प्रश्न उठाएका हुन् । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन आन्दोलनरत छ भने सर्वोच्च अदालतकै न्यायाधीशहरु पनि इजलासमा बसेका छैनन् । तर सरकार र सत्तारुढ दलहरु यो विवाद अदालतको आन्तरिक भएकाले उसैले सल्टाउने भन्दै मौन बसेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै कांग्रेस केन्द्रीय सदस्य थापाले बैठकमा भने, ‘अदालतमा जे भइरहेको छ, त्यसमा हामी यत्तिकै बस्यौं भने कांग्रेस र व्यवस्था दुबैले ठूलो मूल्य चुकाउनुपर्छ ।’

उनले सत्तारुढ दलहरुको समन्वय समितिमा पनि यसबारे छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि ध्यानाकर्षण गराएका छन् । पाँच दलले बनाएको समन्वय समितिमा आलोपालो नेतृत्व गर्ने सहमति अनुसार अहिले पौडेल संयोजक छन् ।

केन्द्रीय सदस्य थापाले नेता पौडेललाई अदालतको विषयमा समन्वय समितिमा छलफल गरेर निकास दिनुपर्ने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।