२८ कार्त्तिक ,काठमाण्डौ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक अबको दुइ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएकी छन् ।
पटकपटक अवधि थप हुँदासमेत सम्पन्न हुन नसकेको सो सडकको अवलोकनका लागि आज नगरकोट पुगेकी मन्त्री यादवले सडक विभाग, सम्बन्धित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिलाई भेटेर सडक निर्माण द्रुत गतिमा अघि बढाउन निर्देशन दिएकी हुन् ।
पटकपटक ठेक्का अवधि थप भएको सो सडकमा अब अवधि थप नहुने मन्त्री यादवले बताइन् । अब पनि निर्माण सम्पन्न नभएमा ठेक्का तोड्न पनि पछि नपर्ने उनको भनाइ छ । पन्ध्र किमी सडक सात वर्षसम्म पनि पूरा नहुनु अनौठो भएको उनले बताइन् ।
मन्त्री यादवले देशभरका विभिन्न सडक केही वर्षयता कोभिड र भूकम्पका कारण ढिला भएको हुनसक्ने बताइन् । आफूले विभिन्न सडकमा अवलोकन गरेर आवश्यक कारबाही अघि बढाउने उनले बताइन् । उनले भनिन्, ‘सडक बनाउन देशको ढुकुटीबाट खर्च भएको छ, त्यसैले पनि जनताले सुविधा पाउनुपर्छ ।’
मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले युद्धस्तरमा काम नगरेसम्म अझै पनि नगरकोट सडक सम्पन्न हुन लामो समय लाग्नसक्ने बताए । निर्माण कम्पनीले चाहँदा निर्माण सामग्री पाइने भन्दै उनले त्यहाँका लागि सामग्री र जनशक्ति दुवै थप गर्न निर्देशन दिए । सडकमा निर्माणको काम जुन खण्डमा जहाँजहाँ पुगेको छ त्यहीँबाट सबैतिर सँगसँगै अघि बढाउन समेत उनले निर्देश गरे ।
सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले एकदुई महिनामा सडक सम्पन्न गर्नका लागि कामको गति बढाउनुपर्ने बताए ।
स्मार्ट कर्णाली । २८ कार्तिक २०७८, आईतवार २०:१९ बजे