इजरायलमा प्रशिक्षित कृषि उद्यमीले गरेको प्रयास र भावी सम्भावना बारे छलफल

चैत्र ८,काठमाडौँ । आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी लिमिटेडको आयोजनामा सोमबार इजरायलबाट १० देखि २४ महिनासम्म कृषि अध्ययन गरी फर्केका युवाहरुले सुरु गरेको कृषि सम्बन्धी अन्तक्रिया सम्पन्न भएको छ । अन्तक्रियामा आराभा नेपालको तर्फबाट अन्तराष्ट्रिय सम्बन्ध तथा नयाँ परियोजना सल्लाहकार रामशरण पौडेलले आराभा नेपालले कृषिमा गरेको असल अभ्यास तथा गण्डकी पदेश सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय,नेपाल आर्मी व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्र र कर्णाली प्रदेश सरकारको स्थानीय निकाय तथा कोहिनुर मल्ट्रि टेक्निकल कलेजको साझेदारीमा भए गरेको असल प्रयास बारे गण्डकी प्रदेशको कृषि सचिव डा.हरि ब.केशी,कर्णली   प्रदेशको तर्फबाट प्रदेश सभा सदस्य धर्मराज रेग्मीले प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा निजी क्षेत्रको व्यवसायिक छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत रहेको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीको सहभागिता रहेको थियो । कार्यक्रममा गण्डकी,लुम्बिनी,मधेस र बागमती प्रदेशको प्रदेश निती तथा योजना आयोगका उपाध्यक्षहरुको समेत प्रतिनिधित्व थियो । कार्यक्रममा कृषि उद्यम केन्द्रका सभापति सुमार्गीले पुँजी,प्रविधि र जमिनको उपयोग गर्ने उपयुक्त समय आएकोले यसमा आराभा नेपाल र उद्यम केन्द्रको सहकार्यले गञ्तव्यमा पुग्ने विश्वास व्यक्त गरे ।

नेपालको तर्फबाट इजरायलका पुर्व राजदुत डा.अञ्जन शाक्यले आराभा नेपाल,इजरायली दुतावास र निजी क्षेत्रको साझा संस्थाहरु मिलिेर इजरायली प्रविधि विस्तार गरी फाइदा लिनुपर्नेमा जोड दिए । सबैपक्ष मिलेर कृषि उद्यम गर्नेलाई मद्धत गरेर मात्रै कृषकको सम्मान हुने बताए । कार्यक्रममा इजरायलका तर्फबाट नेपाल का लागि राजदुत हनान गोडारले कृषिको विकासमा नेपालललाई हरेक पाटोमा सहकार्य गर्न तयार रहेको बताए । राजदुत गोडारले छिमेकी देश भारतमा इजरायली प्रविधि प्रयोग गरी इको इजरायल परियोजना सेन्टर अफ एक्सीलेन्सीको स्थापना गरि धेरै प्राविधिक लाभ लिएको भन्दै सो परियोजना नेपालमा पनि विस्तार गर्न सम्झौता भइ प्रक्रिया सुरु भएको समेत बताए ।

आराभा नेपाल र इजरायली दुतावास सधै नेपालको कृषि रुपान्तरणमा एक भएर लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा सहभागीलाई धन्यवाद दिँदै अध्यक्ष कृष्ण प्रसाद बजगाँईले कृषि उत्पादनले आत्मनिर्भरताको बाटो नलिदासम्म उद्योगको जग नबस्ने बताउदै कृषिको विकास नभई रोजगारी समेत सिर्जना हुन नसक्ने बताए । उनले कृषिको समस्याको समाधान भनेक पुँजि,प्रविधि भएको बाँजो जग्गामा उपयोग गर्ने राज्यको निति हुनुपर्ने बताए । अध्यक्ष बजगाँईले इजरायलले दिएको सिप र नेपालीको श्रम मिलाएर मुलुकमा कृषि क्रान्ति गर्नुपर्ने बताए ।