दशौं राष्ट्रिय खेलकुद : कर्णालीलाई अवसरसँगै चुनौती

सुर्खेत : गत वर्ष २०७९ कात्तिक २ गते पोखरामा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुने निर्णय गर्‍यो । बैठकले २०८१ मंसिर २ देखि ९ सम्ममा कर्णालीमा हुने निर्णय गरेको थियो । निर्णय गरेसँगै दशौं राष्ट्रिय खेलकुद कर्णालीमा नहुने धेरैले आंकलन गर्दै आइरहेका छन् । अहिलेसम्म केन्द्र सरकारले कुनै समन्वय, सहकार्य र बजेट नदिँदा आवश्यक भौतिक पूर्वाधार लगायत व्यवस्थापनको विषयमा प्रदेश सरकार एक्लैले सक्ला त भन्ने प्रश्न उठ्ने गरेको छ ।

त्यति ठुलो प्रतियोगिता प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन एउटा रंगशालाले मात्रै धान्ने अवस्था रहँदैन । त्यसका लागि संघीय सरकारले अन्य जिल्लाहरूमा खेल पूर्वाधार निर्माणका लागि चासो नदिएको प्रदेश खेलकुद विकास परिषद्को भनाइ छ । दशौं राष्ट्रिय खेलकुद कर्णालीमा हुने भएपछि सबैको चासो अहिले कर्णालीतर्फ गएको छ । यसका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रंगशालाको काम तिव्र गतिमा भइरहेको छ ।

दशौं राष्ट्रिय खेलकुदलाई सफल पार्न भने कर्णालीमाथि चुनौतीका चाङ छन् । केन्द्र सरकार तथा आयोजक संस्था राष्ट्रिय खेलकुद परिषद्को बेवास्ताका कारण राष्ट्रिय खेलकुद आयोजनाबारे विगतदेखि नै विभिन्न प्रश्न उठिरहेका छन् । कर्णालीका मन्त्रीहरुले समेत विभिन्न कार्यक्रममा दशौं राष्ट्रिय खेलकुद कर्णालीलाई अवसरसँगै चुनौती पनि भएको बताउँदै आएका छन् ।

बुधबार कर्णाली प्रदेश सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले कर्णालीमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद चुनौतीसँगै अवसरको विषय भएको बताएका थिए । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले आयोजना गरेको खेलकुद पत्रकारितासम्बन्धी दुईदिने तालिममा उनले यस्तो बताएका थिए । उनले अहिले निर्माणाधीन वीरेन्द्रनगर रंगशालामा मात्रै सबै खेलहरु खेलाउन सम्भव नरहेको बताए ।

वीरेन्द्रनगरमा निर्माणाधीन रंगशालाबाहेक प्रदेशका अन्य जिल्लामा खेलकुद पूर्वाधारको अभाव छ भने स्वयं कर्णालीलाई खेलकुद प्रतियोगिता लक्षित पूर्वतयारीको लागि समेत बजेट अभाव छ । दशौं राष्ट्रिय खेलकुदका सम्पूर्ण खेलहरु उक्त रंगशालामा मात्रै खेलाउन कठिन हुने मन्त्री पोखरेलको भनाइ छ । उनले त्यसका लागि अन्य जिल्लाहरुमा पनि आवश्यक संरचनाहरु बनाउन आवश्यक रहेको बताए ।

तर आर्थिक अभाव भने कायमै रहेको उनको भनाइ छ । आर्थिक अभावका बीचमा पनि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नुपर्ने बाध्यतामा कर्णाली रहेको छ । गौरवको रंगशालाको काम अहिले धमाधम भइरहेको छ । कर्णालीको खेलकुद विकासलाई अगाडि बढाउन सरकार अग्रसर भइरहेको पनि मन्त्री पोखरेलले बताए । यता खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले भने रंगशालाको काम तोकिएको समयमा सम्पन्न हुने र दशौं राष्ट्रिय खेलकुद कर्णालीबाट अन्त सार्नुपर्ने अवस्था आउन नदिने दाबी गर्दै आइरहेका छन् ।

१ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ लागतमा बन्ने रंगशाला २०८१ जेठ महिनासम्म सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । अत्याधुनिक प्रविधिको प्रयोगमा निर्माण भइरहेको रंगशालामा १० हजार दर्शक अट्ने क्षमताको बनाइँदैछ । २०७८ कात्तिकमा पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले शिलान्यास गरेको उक्त रंगशालाको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ ।

२०८१ मंसिर २ गतेबाट शुरु हुने दशौं राष्ट्रिय खेलकुदका लागि प्रदेश गौरवको रंगशाला निर्माणकोे काम धमाधम भइरहेको छ । जसमा आर्थिक प्रगतितर्फ ६२ र भौतिकतर्फ ८० प्रतिशत काम सम्पन्न भएको खेलकुद परिषद्का सदस्य सचिव सञ्ज्यालले मध्यान्ह दैनिकलाई जानकारी दिए ।