प्रधानमन्त्रीको दाबी मूल्य वृद्धि घट्यो, तर बजार भन्छ- खाद्यान्न र तरकारीको भाउ दोब्बरसम्म पुग्यो

प्रधानमन्त्री केपी ओलीले संसद्मा गत वर्षको तुलनमा बजारभाउ जम्मा ३ दशमलव ७ प्रतिशतले मात्रै बढेको तथ्यांक सगर्व सुनाए । तर, बजारमा भने गत वर्षको तुलनामा अहिले खाद्यान्न, तरकारी र फलफूलको भाउमा निरन्तर वृद्धि देखिएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार एक वर्षअघि ३८ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको काँक्रो बिहीबार ८५ रुपैयाँ प्रतिकिलो पुगेको छ । यसको वृद्धिदर १ सय २३ प्रतिशतभन्दा बढी हो । धेरै तरकारीको मूल्य करिब ५० प्रतिशतका दरले वृद्धि भएको छ । फलफूलको भाउमा १० देखि ३० प्रतिशतसम्म वृद्धिदर देखिएको छ ।

अत्यावश्यक खाद्यन्नको भाउ प्रतिकिलो ५ देखि ५० रुपैयाँसम्म वृद्धि भएको छ । चालू आर्थिक बर्ष ०७५–७६ को बजेटले भन्सार दर वृद्धि, भ्याट फिर्ता सुविधा खारेजी र अन्तःशुल्क वृद्धिलगायत गरेका कारण खाद्यान्नको मूल्यमा असर परेको अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन बताउँछन् । साता दिनयता चिनीको बजार भाउसमेत बढ्न थालेको छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले चिनीको भाउ किलोमा ५–७ रुपैयाँ तुरुन्तै बढ्ने संकेत देखिएको बताए ।

प्रधानमन्त्री केपी ओलीले गत आइतबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै भनेका थिए, ‘गत वर्षको तुलनामा मूल्य वृद्धि घटेको छ । गत वर्षको मूल्य वृद्धि ४.२ प्रतिशत थियो, यस वर्ष ३.७ प्रतिशत मात्र छ ।’ अहिलेको बजार भाउले भने प्रधानमन्त्री ओलीको अभिव्यक्तिविपरीत तथ्यांक देखाएको छ ।

बजेटले भाउ बढाएको हो

 योगेन्द्र गौचन, महानिर्देशक
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

चालू आव ०७५/७६ को बजेटले आयात हुने वस्तुको भन्सार दर वृद्धि गरेको छ । उद्योगी÷व्यापारीले पाइरहेको भ्याट छुट खारेज भएको छ । केही वस्तुको उत्पादनमा अन्तःशुल्क थपिएको छ । सोहीकारण गत वर्षको तुलनामा अहिले मूल्य बढी देखिन्छ । यद्यपि मूल्य नियन्त्रणको प्रयासलाई जारी राखेका छौँ । हामीले अनुगमनलाई नियमित रूपले तीव्रता दिएका छौँ ।

थोकबजारमै बढेको छ
राजकुमार श्रेष्ठ, अध्यक्ष, खुद्रा व्यापार संघ

विगत वर्षको तुलनामा अहिले धेरै खाद्यान्नको मूल्यमा थोरै थोरै वृद्धि भएको छ । यो नियमित प्रक्रियाबाटै वृद्धि भएको हो । मैले केही समयअघि मात्रै सरकारको अनुगमनकारी निकायका अधिकारीलाई भाउ बढ्न थालेको छ, यसको कारण के हो भन्ने कुरा पत्ता लगाउन ठूलो थोक वा उद्योगमा अनुगमन थालिहाल्नुस् भनेर सुझाब दिएको छु । भाउ किन बढ्न थालेको भनेर थोक व्यापारीलाई सोध्दा उद्योगबाटै बढेर आएको भन्छन् ।