कर्णाली प्रदेश समन्वय परिषदको दोश्रो वैठक शुरु

कर्णाली प्रदेश प्रदेश समन्वय परिषदको दोश्रो वैठक विहिवार देखि प्रदेश राजधानी वीरेन्द्रनगरमा शुरु भएको छ । पौष १० र ११ गते वस्ने वैठक परिषद संयोजक मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा प्रदेश राजधानी वीरेन्द्रनगर स्थित होटेल शिद्धार्थमा शुरु भएको हो । वैठकमा परिषद सदस्यको रुपमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सरकारको प्रमुख सचिव, प्रदेश सरकारका सचिवहरु, प्रदेश भित्रका जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, प्रदेश भित्रका नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु र गाँउपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरु र विषयगत विज्ञहरुको सहभागिता रहेको छ ।

दुई दिनसम्म आवासीय रुपमा संचालन हुने वैठकवाट पहिलो वैठकका निर्णयहरुको समिक्षा, विज्ञहरुको कार्यपत्र प्रस्तूति, प्रदेश तथा स्थानीय तहका सरकार विचको समन्वय तथा आगामी योजनाका सम्वन्धमा छलफल हुने वताईएको छ ।वैठकवाट संघीयताको कार्यान्वयन, योजना निर्माण तथा कार्यान्वयन, कानुन निर्माण तथा कार्यान्वयन सम्वन्धमा दुवै तहका नेतृत्वको वुझाईमा एकरुपता हुने, प्रदेश र स्थानीय तहहरुविच समन्वय र सहकार्यको भावना प्रवद्र्धन भई सेवा प्रवाह एवं विकास कार्यक्रम कार्यान्वयनमा प्रभावकारितामा प्रभावकारिता आउने अपेक्षा गरिएको छ । संविधानले संघ, प्रदेश र स्थानीय तह विचको सम्वन्ध सहकारिता, सहअस्तित्व र समन्वययमा आधारित हुने प्रष्ट गरेको छ । संविधानको सोही व्यवस्था वमोजिम स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०५ को उपदफा १ मा प्रदेश तथा स्थानीय तहले गर्ने कामकारवाहीमा नीतिगत सामञ्जस्यता, योजना व्यवस्थापनमा रणनीतिक साझेदारी, साझा अधिकारक्षेत्रको प्रयोग, प्राकृतिक स्रोत साधनको उपयोग र बाँडफाड सम्वन्धी विषयमा प्रदेश र स्थानीय तहवीच समन्वय कायम गर्न प्रदेश समन्वय परिषद रहने व्यवस्था गरेको छ ।