१५ मिनेट स्थगित भएर फेरि बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विधेयक पेश गर्न अनुमति दिएका थिए।
त्यसअघि वेलमा पुगिसकेका कांग्रेस सांसदले मन्त्री पोखरेललाई रोक्न खोजेपछि धकेलाधकेल भएको हो।
मन्त्री पोखेरललाई रोष्ट्रमसम्म लैजान नेकपा प्रमुख सचेतक देव गुरूङ र सांसद खगराज अधिकारी सँगैआएका थिए। कांग्रेस सांसदहरूले मन्त्री अधिकारीलाई रोक्न खोजेपछि दुई पक्षबीच धकेलाधकेल भएको हो। धकेलाधकेलमा नेकपाका अरू सांसद पनि सहभागी भएका थिए।
धकेलाधकेलपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
यसअघि आजको पहिलो बैठक सुरू हुनासाथ कांग्रेस सांसद प्रकाशमान सिंहले आफ्ना पूर्वसभापतिहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका दुई अस्पताल संघीय सरकारमातहत राख्ने निर्णय मन्त्रिपरिषदबाट नभएसम्म संसदका कुनै कामकारबाही अघि बढ्न नदिने बताएका थिए।
उनले बोलिसकेपछि कांग्रेस सांसदहरू बेल घेराउ गर्न गए।
सांसदहरू देवप्रकाश तिमल्सेना र रंगमति शाही अग्रपंक्तिमा थिए। कांग्रेस सांसदहरूलाई बेलको बीचमा नपुग्दै मर्यादापालकले रोके।
त्यसपछि सांसदहरूले संसदको मर्यादा कायम गर्न भन्दै नाराबाजी गरे।
सांसद मीनेन्द्र रिजालले भने- बेलमा कहाँसम्म आउने भन्ने मर्यादापालकले तय गर्ने। यो सभामुखको आदेश हो कि गृहमन्त्रीको? सभामुखले पदको मर्यादा राख्नुपर्छ।
सत्तापक्षले चिकित्सा शिक्षा विधेयक आज जसरी पनि संसदमा पेस गर्ने तयारी गरेको छ। यसअघि अरू सबै कार्यसूची हटाएर आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पेस गर्ने र पारित गर्ने कार्यसूचीमात्र राखिएको थियो।
स्मार्ट कर्णाली । ८ माघ २०७५, मंगलवार १७:०८ बजे