शिक्षा क्षेत्रमा सुधारहैन क्रान्तिनै गर्नुपर्छ -नगर प्रमुख धर्मराज शाही

निर्वाचित भएपछि पहिलो गाउँसभा सकिसक्नु भएको छ । रास्कोटलाई समृद्ध बनाउन के–के योजना प्रस्ताव गर्नुभयो त ?

नगरपालिकामा पहिलो पटक केही नयाँ काम गर्न खोजिरहेको छाैं । सोहीअनुसार नीति तथा कार्यक्रम र बजेटमा कार्यक्रम समावेश गरेका छौं । नगरबस सन्चालन, सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुर्या‍उने लगायत योजना बनाएका छौं । साथै, नागरिकको स्वास्थ्यलाई ध्यान दिएर ‘हेलो मेयर, हेल्थ केयर’ कार्यक्रम सन्चालन, अस्वस्थ, असाह्य, वृद्धवृद्धा, असक्त, सुत्केरी महिला, पालिकास्तर, स्थानीय स्तरमा उपचार पाउन नसकेका नागरिकलाई लक्षित गरेर कार्यक्रम ल्याएका छौं । नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण, घटना दर्ता लगायतका सेवाका लागि शिविर सन्चालन, रास्कोट क्याम्पसका लागि आवश्यक संरचना निर्माणलाई पनि प्रथमिकता दिएका छौं ।

यी योजना मात्रैले नगरपालिका आत्मनिर्भर र नगरवासी रोजगार बन्लान र ?

यसको जवाफ निकै जटिल छ । आत्मनिर्भर नभए रोजगारी सिर्जना हुँदैन, रोजगारीविना आत्मनिर्भर हुन सकिँदैन । नगरपालिकामा बेरोजगारी समस्या विकराल जस्तै छ । विशेषतः युवाहरू जो अर्थतन्त्रको मेरुदण्ड समेत हुन् उनीहरूलाई रोजगार बनाउन नसकिए देश बलियो हुँदैन । सोही अनुसार सरकारले लिएको तीन खम्बे अर्थनीति (सरकारी, नीजि र सहकारी) अनुसार हामी पनि काम गरिरहेका छौं ।

साना उद्योग सन्चालन, उत्पादित वस्तुको बजारीकरणलाई जोड दिएका छौं । स्थानीयस्तरमा उत्पादन हुने आलु, स्याउ, ओखर, सिस्नु, फापर, मकै, कोदोलगायत अन्नबालीका सम्भावित परिस्कृत रुप के हुन सक्छ रु त्यसको अध्ययन गरेर युवालाई सन्चालन गर्न प्रोहोत्साहित गर्ने लक्ष्य राखेका छौं ।

उपभोक्ताहरू कालो बजारी र मुल्यवृद्धिबाट आजित छन् । यसलाई कसरी समायोजन गर्ने योजना छ त ?

मैले अघि पनि भने यहाँ उत्पादन भएका वस्तुको बजारीकरण गर्न, दैनिक उपभोग्य वस्तुहरूको बिक्री वितरण गर्न सुपथ मूल्य पसल सन्चालन गर्ने योजना छ । स्थानीय तहका उत्पादनलाई विषेश ध्यान दिएर यी पसल सन्चालनमा ल्याउने सोचेको छौँ । महंङ्गी र कालोबजारी अन्त्य गर्नका लागि सुपथ मूल्य पसलले सहयोग गर्नेछन् । यसका लागि स्थानीय सरकारले स्थानीय, सहकारी वा समूहसँग सल्लाह गरेर काम अगाडि बढाउनेछ ।

कालीकोट रास्कोट नगरपालिका तीन तहको भू–भागमा पर्छ । यी भू–भागलाई कसरी सदुपयोग गर्नुहुन्छ ?

नगरपालिकाको तल्लो भागमा सुन्तला, केरा र आँप उत्पादन हुन्छन् । माथिल्लो भागमा स्याउ र ओखर उत्पादन हुन्छन् । बीचको भागमा अन्य नगदे खाद्य्यबाली र फलफूल उत्पादन हुन्छन् । प्राकृतिक हिसाबले रास्कोट नगरपालिका बरदानका रुपमा रहेको छ । अब माटो परीक्षण गरेर कुन क्षेत्र, कुन ठाउँमा कुन बाली फल्छ भनेर योजना अघि बढाउने छौँ । व्यवस्थित रुपमा अन्नबाली, नगदेबाली र फलफूल उत्पादनमा जोड दिने लक्ष्य छ ।

शिक्षा क्षेत्रको विकासका लागि के गर्नुभएको छ ?

तुलनात्मक रुपमा यस नगरपालिकामा रहेका विद्यायलको शैक्षिक अवस्था राम्रै छ । तर, भनेअनुसार विकास हुन सकेको छैन । शिक्षामा सुधार होइन अब क्रान्ति गर्नुपर्छ भनिरहेको छु । पराम्परागत शिक्षा प्रणालीमा व्यापक परिवर्तनको आवश्यकता छ ।

स्वास्थ्यमा पनि एमडीस्तरका चिकित्सकले सेवा दिइरहेका छन् । अब एमडिजीपी डाक्टर ल्याउने तयारीमा छौं । सडक पनि कालोपत्रे हुँदैछ । खानेपानी, नगरभित्रको रिङ रोड बनेको छ । खानेपानी प्रायः सबै घरधुरीमा पुगेको छ । lokpath.com बाट साभार गरएको हो ।