काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि मिर्गौलाको डायलासिस गरिने भएको छ ।
बुधबार धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस सुरु गरिएको र आज पनि डायलासिस गरिने अस्पताल स्रोतले जनाएको छ । तर अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक तथा ग्राण्डी अस्पतालका मिर्गौला विभाग प्रमुख प्राध्यापक डा. दिब्या सिंह शाहले निकालेको विज्ञप्तिमा भने डायलासिसबारे केही भनिएको छैन ।बुधबार साँझ निकालिएको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक परीक्षण पूरा भएपछि बिहीबारसम्ममा अस्पतालबाट डिस्चार्ज गरिने उल्लेख छ ।
तर अस्पतालका एक डाक्टरले नाम उल्लेख नगर्ने शर्तमा दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीको थप डायलासिस गर्नुपर्ने भएकाले उहाँ अझै केही दिन अस्पतालमै बस्नुपर्ने सम्भावना छ । ती डाक्टरले प्रधानमन्त्रीको रगतमा हानिकारिक क्रेटिनाइनको मात्रा बढी देखिएकाले थप डायलासिस गर्न लागिएको तथा उहाँलाई संक्रमणको पनि जोखिम रहेकाले कडा खालको एन्टिबायोटिक चढाइएको पनि जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गाैला प्रत्यारोपणपछि उहाँले नियमित स्वास्थ्य जाँच गराउँदै आउनुभएको छ । यसअघि प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य जाँच हुन्थ्यो । तर सहजताको लागि निजी चिकित्सक शाह नै मिर्गौला विभागको प्रमुख रहेको ग्राण्डीमा उहाँको स्वास्थ्य जाँच हुन थालेको हो ।
यसअघि गएको साउन र भदौमा प्रधानमन्त्री ओलीको सिंगापुरमा उपचार भएको थियो । त्यतिबेला शरीरबाट ‘एन्टिबडी’ हटाउन ‘प्लाज्मा फेरेसिस’ गरिएको थियो । ujyaaloonline बाट साभार गरिएको हो ।।
स्मार्ट कर्णाली । १४ कार्तिक २०७६, बिहीबार ०९:४१ बजे