लकडाउनको दोस्रो दिन : उपत्यकाबाट बिहानै ३०२ सवारीसाधन नियन्त्रणमा

१२ चैत, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि लागू गरिएको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही थालेको छ ।लकडाउन उल्लंघन गरेर सडकमा निस्किएका सवारीसाधानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको हो जसअनुसार महागनरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार बिहान ८ बजेसम्म मात्रै ३ सय २ वटा सवारीसाधन नियन्त्रणमा लिएको एसपी जीवन श्रेष्ठले अनलाइनखबरलाई बताए । उनका अनुसार उपत्यका विभिन्न स्थानबाट ती सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो ।

सबैभन्दा बढी कालिमाटीबाट ३३ वटा सवारीसाधन नियन्त्रणमा परेका छन् । घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई भने सम्झाई बुझाई गरेर घरतर्फ नै फर्काइएको श्रेष्ठले बताए ।यसअघि मंगलबार नियन्त्रणमा लिइएका सवारी साधनलाई केही समयपछि छाडिएको थियो । तर, सवारीसाधन तीब्र रुपमा सडकमा निकाल्ने क्रम बढेपछि नियन्त्रणमा लिइएका सवारी अहिलेलाई ‘होल्ड’ गरिएको महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाल बताउँछन् । www.onlinekhabar.com