नेपाल र भारत आकारमा सानो-ठूलो देश भए पनि बराबर हैसियत हो: प्रधानमन्त्री ओलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई देश आकारमा ठूलो सानो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताउनुभएको छ । सार्वभौमसत्ताको रुपमा कुनै पनि देश ठूलो सानो नभएको उनको भनाइ छ । साथै दुई देशका प्रधानमन्त्रीबीच पनि उमेरमा घटी बढी भए पनि दुबैको बराबर हैसियत भएको बताउनुभयो ।

भारतीय न्युज च्यानल जी न्युजका सम्पादक सुधीर चौधरीसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । चौधरीसँगको अन्तरवार्ता सोमबार राति प्रशारण भएको थियो । चौधरी उनै पत्रकार हुन्, जसले केही महिनाअघि टिभी कार्यक्रममा नेपाल चीनको ईशारामा भारतविरुद्ध लागेको आरोप लगाएका थिए ।

प्रधानमन्त्री ओलीसँग उनले पछिल्लो पटक भारत र चीनबीच प्रतिस्पर्धामा नेपालको भूमिका लगायत भारतसँग सम्बन्ध लगायत विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले भने भारत र चीनबीच संवादका लागि नेपालले समन्वयकारी भूमिका खेल्नसक्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

यस्तै ओलीले भारत र चीन दुई छिमेकी देशसँग नेपालले सन्तुलित सम्बन्ध राख्न चाहेको बताए र एकको कार्ड अर्कोसँग कहिल्यै नखेल्ने पनि बताउनु्भयो । यसरी फरक कार्ड खेल्ने नेपालको राजनीति नभएको पनि उहाँको भनाइ थियो ।

अर्को एक प्रसंगमा लद्दाख, गलवान लगायत सीमा क्षेत्रमा भारतको चीनसँग विवाद भइरहँदा नेपालले नक्सा जारी गर्नुमा आशंका रहेको भन्दै पत्रकार चौधरीले प्रश्न सोधेका थिए । तर ओलीले नेपाललाई लद्दाखसँग लिनुदिनु नभएको जवाफ दिनुभयो । साथै उहाँले भारतसँग वार्ताको आह्वान गर्दा भारतबाट प्रतिक्रिया नआएपछि र सडक उद्घाटन गरेपछि आफूहरुले नक्सा जारी गरेको प्रतिक्रिया दिनुभयो ।

‘तपाईँको कुरा भड्काउने किसिमको छ । गलवानको अर्को मुद्दा हो । तर भारतलाई वार्ताको प्रस्ताव गर्दा कुनै प्रतिक्रिया आएन । गलवानसँग नेपालको कुनै लिनुदिनु छैन । अर्को देशबीच विवाद हुँदा कुनै एकको साथ लिने नेपालको राजनीति हैन । नेपालको राजनीति त सन्तुलनको राजनीति हो,’ प्रधानमन्त्री ओलीले बताउनुभयो ।

यस्तै भारत र चीनको प्रतिस्पर्धामा नेपालले सधैँ भारतलाई नै दोष देखाउने गरेको भन्ने प्रश्नमा पनि आफूहरुले त्यस्तो नगरेको र यो गलत बुझाइ भएको भन्दै ओलीले छिमेकी देशहरुबीच समान व्यवहार र सम्बन्ध रहेको बताउनुभयो । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।