कर्णालीको सभामुखमा पोख्रेल र गुरुङको उम्मेद्वारी

सुर्खेत- कर्णाली प्रदेशको सभामुखको लागि नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई जनाको उम्मेदवारी परेको छ ।
शनिबार प्रदेश सभा सचिवालयले जारी गरेको निर्वाचन कार्यातालिका अनुसार नेपाली कांग्रेसबाट सांसद खड्ग पोख्रेल र नेकपा एमालेबाट सांसद नन्दा गुरुङको उम्मेदवारी परेको हो ।

प्रदेश सभाको कार्यालयका पुगेर शनिबार नेपाली कांग्रेसको तर्फबाट नेपाली कांग्रेस सुर्खेतका सभापति एवं सांसद खड्ग पोख्रेल र सत्तारुढ गठबन्धनको तर्फबाट एमालेकी सांसद नन्दा गुरुङले शनिबार बेलुका ४ बजे सभामुखको लागि उम्मेदवारी दर्ता गरेका छन् । सांसद पोख्रेल सुर्खेत प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क बाट निर्बाचित सांसद हुन् भने सांसद गुरुङ सुर्खेतबाट समानुपातिक तर्फबाट निर्बाचित सांसद हुन् । प्रदेश सचिव जीवराज बुढाथोकीका अनुसार नेपाली कांग्रेसबाट पोखरेलले बिहान ११ बजे उम्मेदवारी दर्ता गराएका थिए भने गठबन्धनको तर्फबाट एमालेकी गुरुङले दिउँसो करिब ४ बजे उम्मेदवारी दार्ता गराएकी हुन् ।

जम्मा ४० सदस्यीय प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेशमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र १÷१ गरि ३ जना सांसद रहेका छन् । एमालेकी उम्मेदवार गुरुङमा पक्षमा २५ मत रहेको छ भने कांग्रेसका तर्फबाट उम्मेद्वार पोख्रेलको पक्षमा १४ मत रहेका छन् ।