जाजरकोटका भूकम्पपीडितलाई राहतको अभाव कि वितरणमा समस्या ?

प्रायःको घर छैन । भएकाको पनि धराप छ । अहिले नै जान्छ कि भरे जान्छ जस्तो छ । कात्तिक १७ मध्यरातको भूकम्पबाट चर्केको घर अनि बारम्बारको धक्काका कारण जाजरकोटको भेरी नगरपालिकाकी राममाया खड्का तीन दिनसम्म सुत्न सकिनन् । घरबाहिरै बसिन् ।
हिजो सशस्त्र प्रहरीले स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा भूकम्पपीडितका निम्ति बस्ने व्यवस्था मिलाएको थाहा पाएपछि आइन् । सोमबार बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भनिन्, ‘सबै जना राहत राहत भनिरहेका छन् । तर हामीले पाएका छैनौं । भूकम्प आएको चार दिन भैसक्यो । कोही जनप्रतिनिधि कहाँनेर बस्नुभएको छ, के कसो छ भनेर सोध्न आएनन् । खाने बस्ने टुंगो छैन । चिसो बढेको छ । डरत्रास बढेको छ । मलाई यहाँ व्यवस्था छ भन्ने पनि थाहा थिएन । तीन दिनपछि बल्ल छानामुनि सुत्न पाएँ ।’
जाजरकोटमा स्थानीय सरकारका साथै विभिन्न सामाजिक संघसंस्था राहत वितरणमा लागेका छन् । तर सबै भूकम्पपीडितले राहत पाइसकेका छैनन् । नेपाल रेडक्रस सोसाइटी, जाजरकोटका सभापति हरिबहादुर बस्नेत भने जिल्ला विपद् व्यवस्थापन समितको निर्णय अनुसार एकद्वार प्रणालबाट राहत विरण गर्न सबै पालिकामा पठाइसकेको बताउँछन् । उनले भने, ‘भूकम्पबाट जाजरकोटका सातवटै पालिका प्रभावित छन् । उद्धार र उपचारको काम सकिएकाले अब राहत वितरण सुचारु हुन्छ । विकट क्षेत्र छ । बस्ती छरपस्ट छन् । सदरमुकामबाट पालिकासम्म पठाउन ढुवानीको समस्याले ढिलो भएको हो । अन्यथा केही होइन ।’