दैलेख १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि डुङ्गेश्वरलाइ 

दैलेखको ठाटिकाँध गाउँपालिकामा सम्पन्न १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि डुङ्गेश्वर गाउँपालिकाले जितेको छ। शुक्रबार सम्पन्न प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ७ कास्य पदकसहित डुङ्गेश्वर गाउँपालिकाले उपाधि हात पारेको हो।
प्रतियोगितामा ६ स्वर्ण, ५ रजत र १० कास्यसहित नारायण नगरपालिका द्वितीय तथा ५ स्वर्ण, ४ रजत र २ कास्यसहित नैमुले गाउँपालिका तृतीय हुन सफल भएका छन्। प्रतियोगिताको विजेता डुङ्गेश्वर गांउपालिकालाई रनिङ सिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ।
त्यसैगरी, द्वितीय भएको नारायण र तृतीय भएको नैमुलेलाई क्रमशः ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको ठाटिकाँध गाउँपालिकाका खेलकुद समितिका अध्यक्ष दिपाल शाहिले जानकारी दिए। उनका अनुसार, भलिबल, कबड्डी, एथलेटिक्समा विधागत रूपमा विजेता र उपविजेता बन्न सफल भएका स्थानीय तहका विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको छ।
प्रतियोगितामा भलिबलमा छात्रतर्फ ठाटिकाँध गाउँपालिका प्रथम र चामुन्डा नगरपालिका द्वितीय, छात्रा भलिबलमा ठाटिकाँध गाउँपालिका प्रथम र नारायण नगरपालिका द्वितीय हुन सफल भए। त्यसैगरी, कबड्डीको छात्रतर्फ डुङ्गेश्वर गांउपालिका प्रथम र आठबिस नगरपालिका द्वितीय तथा छात्रातर्फ आठबिस नगरपालिका प्रथम र चामुण्डाबिन्द्रासैनी नगरपालिका द्वितीय भए।
ठाटिकाँध गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाह, ठाटिकाँध गाउँपालिकाका खेलकुद समितिका अध्यक्ष दिपाल शाहि, निमित प्रमुख प्रशासकिय अधिकृत नेत्र बहादुर थापालगायतले पुरस्कार वितरण गरेका थिए।