बामदेव उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्लान् ?

काठमाडौं, १८ भाद्र । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने निश्चितप्रायः भएको छ । उनलाई सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्य बनाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा जानकारी गराएका छन् ।

यसअघि नै बामदेलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे निर्णय भइसकेको छ । यसको कार्यान्वयन हुने ओलीले आज स्पष्ट पारेका छन् ।

गौतम सांसद मात्र बन्न खोजेका होइनन् भन्ने स्पष्ट छ । उनको ध्यान अब सरकारमा जानेतर्फ देखिदैछ ।

उपप्रधानमन्त्री समेत भइसकेका र दुईपटक गृहमन्त्रालयको जिम्मेवारी सम्हालिसकेका गौतमको ध्यान कुनै महत्वपूर्ण मन्त्रालय सम्हाल्नेमा देखिन्छ । उनको विशेष ध्यान अर्थ मन्त्रालयमा देखिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडा २० भाद्रबाट स्वतः मन्त्री नरहने अवस्था हुन्छ । उनी छ महिना सांसद नभइकन पनि मन्त्री बने । अब थप समय मन्त्री बन्न संविधानले दिदैन । यस्तो अवस्थामा अर्थ मन्त्रीको पद रिक्त हुनेछ । बामदेव यही मन्त्रालय सम्हालन चाहिरहेका छन् ।

उनी अर्थशास्त्रका जानकार भने होइनन् । तैपनि अर्थमन्त्री बन्न खोज्नुलाई अर्थपूर्ण मानिएको छ । उनले उक्त मन्त्रालय मार्फत् नयाँ योजना तथा आर्थिक नीतिहरु ल्याएर जनताको मन जित्ने अपेक्षा गरेको बुझिएको छ । निकटस्थका अनुसार उनी लोकप्रीय कामहरु गरेर राजनीतिक उचाईं बढाउन चाहन्छन् । यसले उनलाई भविष्यमा नेकपा अध्यक्ष र प्रधानमन्त्रीको समेत ढोका उघार्न मद्दत गर्ने विश्वास समेत गरेको बुझिएको छ ।

गौतमलाई सांसद बन्न नै कठिन भइरहेको अवस्थामा मन्त्री बन्न भने सजिलो छैन । प्रधानमन्त्री ओलीले गौतमलाई सरकारमा आफूपछिको वरियतामा राखिहाल्ने सम्भावना मजबुत भइसकेको छैन । गौतमलाई नेकपाभित्र प्रचण्ड र माधवकुमार नेपालको समेत साथ नहुन सक्छ । यस्तो अवस्थामा गौतमका सामु निकै चुनौती देखिएको छ ।-File Photo reportersnepal.com